काठमाडौं - कोही एकोहोरो हाँसिरहेका, कोही रोइरहेका, कोही कपाल चिथोरिरहेका अनि कोहीचाहिँ आफ्नै मलमूत्रसँग लडिबुडी गरिरहेका। आङमा न भनेजस्तो कपडा छ न त भरपेट खाना पाएका छन् उनीहरुले।
मानसिक असन्तुलन भई दिनरात सडकमै बिताउँदै आएका यस्ता मानिस देख्दा कल्पना भट्टलाई लज्जित तुल्यायो। उनी भन्छिन्, ‘उनीहरूका क्रियाकलाप देख्दा पीडाबोध भयो। मन कुँडियो।’
सडकमा बरबराइरहेका अर्धनग्न शरीर मात्रै नाच्न थाले कल्पनाका मानसपटलमा। अनि लाग्यो, केही त गर्नैपर्छ। त्यसपछि उनले ती असहायको सहारा बन्ने अठोट गरिन्। ती मानिसलाई सडकबाट टिपेर ल्याइन् र आश्रय दिन थालिन् कल्पनाले।
सबैको पालनपोषणको मात्रै होइन, मृत्युपछिको दाहसंस्कार र काजकिरिया पनि उनी आफैंले गर्दै आएकी छन्।
उनी भन्छिन्, ‘यहाँको कोही बितेमा मोहनाघाट लगेर हिन्दु संस्कारअनुसार अन्त्येष्टि गर्छु। दागबत्ती पनि आफैंले दिन्छु।’
उनलाई त्यसरी लास जलाइरहँदा संसार फिक्का लाग्छ। ‘संसार स्वार्थमा रुमल्लिरहेको छ। रित्तो हात आउने मान्छे रित्तै हात जान्छ। फेरि लडाइँ केका लागि?’, उनी प्रश्न गर्छिन्।
कतिपय त्यहीं आएपछि जन्मिएका छन्। त्यसैले उनले सबै बालबालिकालाई आफ्नै थर दिएकी हुन्। उनी भन्छिन्, ‘कतिपयको न्वारान पनि आफैंले गरिदिँदै आएकी छु। अनि थरचाहिँ भट्ट।’
त्यहाँ जन्मिएका सबै बालबालिका बोर्डिङ स्कुलमा पढ्न जान्छन्। तिनको खर्च पनि कल्पनाले नै जुटाउँछिन्।
कल्पना यति बेला ३४ जना बेसहारा महिला र उनीहरुका आठ सन्तानका अभिभावक बनेकी छन्। ती आठ बालबालिकालाई आफ्नी आमा को हुन् थाहा छैन। उनीहरूका आमालाई पनि आफ्ना सन्तानबारे थाहा छैन।
धनगढी क्याम्पसरोडमा रहेका दृष्टि फाउन्डेसनको ओतमा उनीसहित ४३ जनाको जीवन चल्दै आएको छ। आर्थिक स्रोत के हो त? कल्पना भन्छिन्, मुठीदान।
उनी भन्छिन्, ‘मलाई कसैको सहयोग लिनु छैन। समाजकै मुठीदानबाट ती जीवन बचाइरहनु छ।’
सरकारले संस्थाको जिम्मेवारी लिएमा आफू छोड्न तयार रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘कुनै एनजीओको पछि लाग्दिनँ।’
उनले भाडामा लिएको घरमा आश्रयस्थल बनाएकी छन्। अब कल्पनाको एउटै चाहना छ– बेसहाराका लागि मजाले सुत्न मिल्ने छानो बनाउने।
उनी भन्छिन्, ‘एकातिर आमाबुवा र अर्कोतिर बालबालिकालाई राखेर उनीहरूको राम्रो रेखदेख गर्न सकियोस्।’
उनले आश्रय स्थललाई नमुना सहारा घर बनाउन चाहेकी छन्। कल्पना भन्छिन्, ‘जहाँ बेसहाराहरूले रमाउने आनन्ददायी संसार होस्।’
उनले दृष्टि फाउन्डेसनमा रहेकाहरूको मानसिक उपचारसमेत गर्दै आएकी छन्। कैलाली अस्पतालले मासिक दुई दिन १५ र २९ गते निःशुल्क उपचारका लागि चिकित्सक पठाउने गरेको छ।
उनीहरूलाई आवश्यक पर्ने औषधीको जोहो पनि कल्पनाले नै गर्ने गरेकी छिन्।
अहिलेसम्म दृष्टिले ४८ महिलालाई पुनःस्थापना गरिसकेको छ। उनीहरू पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन्।
कल्पना कहिलेकाहिँ उनीहरूलाई भेट्न घरमै पुग्छिन्। केही दिन पहिले मात्रै १७ जनालाई भेटेर उनले स्नेह बाँडिन्। धेरैको हातबाट उनीहरूले नै बनाएको खाना–खाजा खाइन्। कल्पना भन्छिन्, ‘यसो गर्दा मलाई ठूलो आत्मसन्तुष्टि मिल्छ।’᠁
पुनः स्थापित महिला उद्यमशील भइसकेका छन्। एक महिलाले धनगढीको हाटबजारमा तरकारी बेच्ने काम थालेकी छन्। पाँच वर्ष सडक जीवन बिताएकी दाङकी एक महिलाले ठेला व्यवसाय सञ्चालन गरेकी छिन्। कल्पना भन्छिन्, ‘यहाँबाट उपचार भएर गएकी ती महिलालले मकै पोलेर मासिक १५ हजार कमाएको सुन्दा निकै खुसी लागेको छ।’ यस्तै अर्की एक जनाले पानीपुरी व्यवसाय सुरु गरेकी छन्।
घर अभावले राम्रो बास दिन नसकेकोमा उनको मन दुखिरहन्छ। ‘सानो घरका कारण सबैलाई आश्रय दिन असहज भइरहेको छ। ढोकादेखि नै म्याट बिछ्याएर लहरै सुताउनुपर्छ। जसले गर्दा मन दुख्छ’, उनले भनिन्।
प्रदेश सरकार र स्थानीय सरकारले जग्गाको जोहो गरेर सानो घर बनाइदिए उनी जीवनकै सुखानुभूति गर्ने बताउँछिन्।
नगरपालिकाले गत वर्ष धनगढी–४ मा सामुदायिक वनको केही जग्गा दृष्टिका नाममा छुट्याएको थियो। घर बनाउन प्रदेश सभा सदस्य डिल्लीराज पन्तले १० लाख छुट्याएका थिए। तीन÷चार ट्रक ढुंगा पनि झारिएको थियो।
स्थानीयले घर बनाउन दिएनन्। मेयरले शिलान्यास गरेको जमिनमा दृष्टिको घर बन्न सकेन। उनी असारे झरीमा २१ दिनसम्म त्यही जमिनमा अनशन बसिन्। हारगुहार गरिन्। तर, अहँ! कसैले सुन्दैसुनेन उनको स्वर। बरु कल्पनालाई समाजले ‘पागल’ को आरोप लगायो।
त्यस्तो आरोप लाग्दा निकै झोक चलेको उनी बताउँछिन्। कल्पना भन्छिन्, ‘सबैलाई सडकमै छोडिदिऊँ भन्ने झोक चलेको थियो। तर, मैले छाडिदिएपछि कसले स्याहार्छ ती पीडितलाई?’
सजिलो छैन मानसिक रोगको संरक्षण गर्न
उनको आश्रममा बस्ने मानसिक रोगीलाई बाहिरी रमझमबारे केही थाहा छैन। उनीहरूले कल्पनालाई प्रत्येक दिन गाली गर्छन्। कपाल चिथोर्छन्। मुखैमा थुकिदिन्छन्।
कल्पनाले आफ्नो नाडीको सेतो दाग देखाउँदै भनिन्, ‘यो एउटी दिदीले टोकेको दाग हो। यहाँबाट कति रगत बग्यो–बग्यो। जीवनभर नमेटिने निसानी बनेर बसको छ।’
उनीहरूका चीत्कार र दुःखले कल्पनालाई आफ्ना सबै दुःख तिलको दानाजस्तै लाग्छ। कल्पना भन्छिन्, ‘सबैभन्दा बढी कपाल तान्ने र थुक्ने गरेका छन्।’
दृष्टिमा बसेकाहरु कहिलेकाहीं भाग्छन्। कल्पनाले प्रहरीलाई खबर गरेर फेरि दृष्टिमै ल्याउँछिन्।
कल्पनाले उनीहरूलाई मनोरञ्जन प्रदान होस् भनेर दैनिक बेलुका ५ देखि ६ बजेसम्म नाचगानको तालिका नै राखेकी छन्। कसैले गाउँछन्। कसैले नाच्छन्। मनमा जे लाग्यो त्यही गर्छन्।
होहल्ला भयो भन्दै कल्पनासँग छरछिमेकका मानिस कराइरहेका हुन्छन्। कल्पना भन्छिन्, ‘एक जनाले त उनलाई लौरोले हिर्काए।। तर, म विचलित भइनँ।’ अहिले त छिमेकीलाई पनि बानी परिसकेको छ।
कल्पनाले जस्तोसुकै बाधा आए पनि गन्तव्य नपुग्दासम्म आफ्नो यात्रा नरोकिने बताइन्। उनी भन्छिन्, ‘कुनै न कुनै दिन सरकार यस विषयमा गम्भीर हुनेमा म विश्वस्त छु।’
मानसिक समस्यामा परेकाको सेवा गर्नु नै आफ्नो लक्ष्य
सामान्य परिवारमा जन्मिएकी कल्पनाको सानै उमेरमा बुवाको निधन भयो। परिवारको रेखदेख घरकी जेठी छोरी कल्पनाकै काँधमा थियो। चार भाइबहिनीकी दिदीले कल्पनाले घरव्यवहारसँग पठनपाठनलाई पनि सँगसँगै लगिन्।
काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्दागर्दै उनले कोसिस नामक संस्थामा काम गर्न थालिन्। संस्थाले सडकबाट उद्धार गरेर ल्याएका बेसहाराको पालनपोषण गर्दथ्यो। केही वर्ष त्यहाँ काम गरेपछि उनलाई आफ्नै जन्मथलोमा यस्तै काम गर्ने रहर पलायो।
घरपरिवार र आफन्तले कल्पनालाई रातो कलमले हस्ताक्षर गर्ने पदमा पुग्ने क्षमता भएकी मान्छे पागलको फोहोरमा बसिरहेकी भनेर पनि खिल्ली उडाए। तर सरकारी सेवामा लाग्न उनले रुचि देखाइनन्। उनी भन्छिन्, ‘परिवारका मान्छेले सरकारी सेवामा नाम निकालेर ठाँटको जीवन बिताओस् ठान्नु ठिकै हो।’ परिवारको गुनासो विनम्रतासाथ ग्रहण गर्दै निरन्तर यस क्षेत्रमा सक्रिय रहेको उनको भनाइ छ। कल्पना भन्छिन्, ‘यहाँबाट बाहिर निस्किएका व्यक्ति सामान्य जीवनमा फर्कंदा औधी खुसी लाग्छ। त्यसैले मेरो लक्ष्य नै यस्ता मानिसको सेवा गर्नु हो।’
बिह गर्ने सोच मरिसक्यो
परिवारका सदस्यले सधैं बिहे गर्न दबाब दिइरहन्थे। तर उनले सधंै नकारिरहिन्। आमासँग सम्बन्ध चिसियो। उनले बिहे गरिनन्।
३४ वर्षीया कल्पना बिहे गर्ने रहर पनि छैन। उनी भन्छिन्, ‘पागल स्याहार्दै आएकी मसँग कसले जोड्छ साइनो?’ जोडे पनि दिगो नहुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘बिहे गर्ने सोच मरिसक्यो अब।’