फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर सुरेश बडाल विभिन्न पत्रपत्रिका तथा अनलाइनमा लेखरचना प्रकाशित गर्दै आएका छन्। कविता, अनुभूति र संस्मरणमा लेखनमा पनि रुचि राख्ने बडालको हालै ‘रहर’ कथा संग्रह प्रकाशित भएको छ। उनको पहिलो कृति ‘रहर’ मा आधारित भएर नेपाल समयले गरेको कुराकानी :
कथामा कुनकुन विषयवस्तुको उठान गर्नुभएको छ?
कथामा विशेषतस् किशोर अनुभूति छन्। पञ्चायतकालबाट सुरु भएर पचासको दशकका बालकले देखेका दैनिक घटना र त्यसपछिको समयको मनोविज्ञानको कथासमेत 'रहर' मा छ। यसलाई मानव मनको अन्तरकुन्तरका कथा भन्न सकिन्छ।
सानैदेखि कथा, कविता, उपन्यास पढ्ने बानी थियो। पछि बिस्तारै साहित्यतर्फ आकर्षित हुन थालें। सुरुमा केही कविता लेखें। त्यसपछि आफ्ना अनुभूति, आफैंले देखेका चरित्र अनि विभिन्न पात्रका कथा पनि लेख्न थालें। साहित्यको बहावमा बहँदै जाँदा कथा लेखनसम्म आइपुगेको हुँ। तिनै कथा यसमा समेटिएका छन्।
कुनै कथा लामा, कुनै संस्मरण र कतै उपकथा पनि रहेछन्? नयाँ प्रवृत्ति भित्र्याउन यस्तो लेख्नुभएको हो या अन्न कुनै सन्दर्भले गर्दा त्यस्तो भएको हो?
नढाँटी भन्नुपर्दा मैले ती कथालाई संस्मरण भनेर लेखेको थिएँ। तर तिनमा यथार्थभन्दा काल्पनिकताको मात्रा बढी हुन गयो। आख्यानमा झैं पात्रहरुबीचको द्वन्द्व हुँदै अन्त्यमा एउटा उत्कर्षमा पुगेर अन्त्य भयो। त्यसैले इमानर भएर कथाकै विधामा राखेको हुँ। यसलाई नयाँ प्रयोग पनि भन्न सकिन्छ। तर सबै कथा संस्मरणका शैलीमा लेखिएका छैनन्।
उपकथा पनि छन्। कतैकतै त कथाभित्रका एउटा वाक्यमा पनि भिन्दै कथा भन्ने कोसिस गरेको छु। सानै भए पनि केही फरक गरौं भन्ने प्रयास हो। त्यसैले ुरहरुका कथा परम्परागत आख्यानको साँचोमा ढालिएका छैनन्।
कथा प्रकाशित भएपछि समीक्षक वा समालोचकबाट पनि विशेष केही प्रतिक्रिया आएका छन् कि?
त्यस्तो समालोचना त कतै भेटेको छैन। सामाजिक सञ्जालमा आएका पाठक प्रतिक्रिया नै असली समालोचना भएको छ मेरा लागि। समालोचना त परको कुरा, केही व्यक्तित्वलाई किताब पढेर फोन, मेसेजमै भए पनि के कस्तो लाग्यो भनिदिनुस् है, मजस्तो नयाँ लेखकलाई मार्गनिर्देशन हुन्छ भन्दा पनि प्रतिक्रिया नआउने अवस्था रहेछ।
तर केही पाठक प्रतिक्रियाले भने अत्यन्त खुसी बनाएको छ। अर्को किताब कहिले आउँछ, यो किताब पातलो भयो, अर्को अलि मोटो लेख्नुस्, कथाका पात्रलाई के भयो भन्ने प्रश्न इत्यादि प्रतिक्रियाले अझै सुन्दर पुस्तक लेख्ने जाँगर भरिदिएको छ।
कथा कुन उमेर समूहका पाठकका लागि लेख्नुभएको हो?
कुनै उमेर समूहका लागि भनेर लेखिएको हैन। सबै उमेरका पाठकले पढेर उत्तिकै मन पराउनुभएको छ। केही कथा किशोर वा बालकको दृष्टिकोणबाट लेखिएको भए पनि सामाजिक, राजनीतिक, प्रेम, यौनमनोविज्ञान सबै खालका कथा छन्।
लक्षित उमेर समूहका लागि लेखिएको हो भने त्यसको प्रभाव त दीर्घकालसम्म नरहन सक्छ नि हैन?
प्रभाव कहिलेसम्म रहला त्यो त समयले नै बताउला। मलाई लाग्छ– अनुभूतिहरु, सुखदुख, आँसुहाँसो अनि अरु मानवीय संवेदना कहिल्यै पुराना हुँदैनन्।
‘रहर’ मा नेपाली मौलिक लोकजीवनका सन्दर्भ पनि आएका छन्?
एकदम। रहरमा दसैंको प्रसंग, बिहेको प्रसंग, अन्धविश्वास, हामीले भुल्दै गएको गाउँले जनजीवन, मोबाइल, टीभी नहुँदाका बखतका दिनचर्या आएका छन्। यसमा हाम्रै बाआमा, हजुरबा, हजुरआमा, घरपरिवार अनि गाउँका कथा छन्।
अन्य कथा संग्रहभन्दा ‘रहर’ कुन कारणले भिन्न छ? पाठकले पढ्नैपर्छ भन्ने तपाईंको लेखकीय दाबी के हो?
सबै पुस्तकका आआफ्नै विशेषता हुन्छन्। सबै लेखकले आफ्नो निश्चित उद्देश्यका खातिर लेखेका हुन्छन्। यसर्थ रहर लेख्नुको पनि मेरो आफ्नै कारण छ। पुस्तक पढ्ने पाठकलाई ‘रहर’ले निरास पार्दैन। यो मेरो दाबी हो। पढ्दा केही फरक, केही मिठो, आँसुहाँसो, ठट्टा, केही निर्दोषपन, केही खिन्नता आदि भाव मनमा ल्याएर पचासको दशकको सेरोफेरोको कुनै पहाडी परिवेशमा पुग्न सकिन्छ। मैले महान् किताब लेखेको छु, यसमा ज्ञानगुन र दर्शन बेजोड छ भन्दिनँ। पुस्तक पढेर आनन्द लिँदै कुनै रमाइलो दुनियाँमा रमण गर्न चाहने, आफूले कहिल्यै नदेखेका तर देखेको छु झैं लाग्ने पात्रहरुसँग कहिले प्रेममा पर्न त कहिले रिसाउन, ठुस्किन चाहननेले ‘रहर’ पढ्दा पक्कै पनि आह्लादित हुनेछन्।
लेखकको अनुभूतिमा जीवन र रहरको समायोजन कस्तो हुँदो रहेछ?
तपाईं जीवनलाई जति जटिल तरिकाले बुझ्नुहुन्छ, त्यति नै जटिल लाग्छ। तर जब जीवन सरल छ भन्ने ठान्नुहुन्छ, तपाईं जीवन रमाइलो पाउनुहुन्छ। जीवनमा हामी सबैको चाहना भनेको खुसी रहनु हो। एकचोटि सम्झिनुस् त त्यो बालापन, तपाईं कति साना कुराको रहर पाल्नुहुन्थ्यो र ती रहर पूरा हुँदा कति धेरै खुसी हुनुहुन्थ्यो। पूरा नभएका रहर पनि हुन्थे तर तपाईं बिर्सिहाल्नुहन्थ्यो। तर अहिले तपाईंसँग रहर हैन, या त सपना हुन्छन् या महत्त्वाकांक्षा। पूरा नभएका महत्त्वाकांक्षाले मानिसलाई विचलित बनाउँछ। बालापनका रहरझैं तपाईं सपनालाई झट्टै बिर्सिन सक्नुहुन्न। मैले भन्न खोजेको के हो भने बच्चाहरुका झैं निश्चल रहर साँच्नुभयो जीवनमा खुसी नै खुसी भेट्नुहुन्छ। जीवन भनेको त ससाना रहरको खुत्रुके हो जस्तो लाग्छ मलाई। मैले त्यही रहरका खुत्रुकेलाई संकलन गरेर कथाको रुप दिएको हुँ।
‘रहर’ केहो जस्तो लाग्छ, कुनै कुराको जन्म वा मिथ्या चाहना?
रहर यही हो भनेर दार्शनिक जबाफ त दिन सक्दिनँ म। तर मिथ्या चाहनाचाहिँ पक्कै हैन। मान्छेसँग मन हुन्छ, चेतना हुन्छ, त्यो चेतनाले नै मान्छेलाई केही कुराको रहर पाल्न लगाउँछ र त्यो रहर पूरा गर्नेतर्फ मान्छे अग्रसर हुन्छ। यसरी नै मानव सभ्यता अघि बढ्छ जस्तो लाग्छ मलाई। रहर प्रगतिशीलताको प्रस्थानबिन्दु हो।