काठमाडौं - नेपाल ल क्याम्पसले आफ्ना सबै भौतिक कक्षा बन्द गरी अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको छ।
एलएलएम र बीएएलएलबीको कक्षा अनलाइन माध्यमबाट नियमित रूपमा पठनपाठन हुने र एलएलबीको कक्षा भने वैशाख १५ गतेदेखि माइक्रोसफ्ट अफिस ३६५ टिम एप मार्फत् सञ्चालन हुने क्याम्पसले सूचनामा उल्लेख गरेको छ।
यसका साथै क्याम्पसले एलएलबीको २०७६–७७ को नयाँ भर्ना आवेदन पनि खुलाएको छ। ६०० जना विद्यार्थी भर्ना लिने एलएलबीको प्रवेश परीक्षा जेठ २९ गते शनिबार सञ्चालन गरिने भएको हो।
प्रवेश परीक्षाको आवेदन फाराम वैशाख १४ गतेदेखि जेठ १३ गतेसम्म विद्यार्थीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म १२ सय रूपैयाँको भौचर भरेर क्याम्पसको परीक्षा शाखामा फाराम बुझाउन सक्ने क्याम्पसले जनाएको छ। प्रवेश परीक्षाको फाराम भर्न विद्यार्थीले त्रिविको मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने क्याम्पस प्रमुख डा. डीएन पराजुलीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
२०७५–७६ मा विभिन्न विवादका कारण रोकिएको प्रवेश परीक्षा यस वर्ष कोटा निर्धारण गरेर खुलाइएको हो। क्याम्पसले लिने भनेको २०७५–७६ को प्रवेश परीक्षामा तीन हजार विद्यार्थीले फाराम भरेका थिए।
आवेदन दिएका सबै विद्यार्थी भर्ना गराउनुपर्ने विद्यार्थीको माग र निश्चित कोटामा मात्र भर्ना गर्ने क्याम्पसको अडान कायमै रहेका बेला सर्वोच्च अदालतमा मुद्दा परेसँगै २०७६ जेठ ३ गते सर्वोच्च अदालतले निश्चित कोटा तोकेर स्वच्छ प्रतिस्पर्धामार्फत पूर्णकालीन विद्यार्थी मात्र पढाउन क्याम्पस र त्रिविलाई अन्तरिम आदेश दिएको थियो।
सोही आदेशको आधारमा त्रिवि कार्यकारी परिषद्ले पहिलो वर्षमा ३०० विद्यार्थी भर्ना लिन निर्देशन दिएको थियो। परिषद्को निर्णयअनुसार क्याम्पसले प्रवेश परीक्षाको मिति पनि तोकेको थियो। तर, विद्यार्थीले कोटा तोकेर भर्ना गर्ने निर्णय नमान्ने भन्दै प्रवेश परीक्षा हुन दिएनन्। पछि मंसिर ५ गते सूचना निकालेर पुस ५ गतेका लागि प्रवेश परीक्षाको मिति तोकेको थियो तर, परीक्षा हुन सकेन। यस वर्ष दुवैलाई समेटेर दुई वर्षकै प्रवेश परीक्षा एकैपटक हुन लागेको हो।
नेपाल ल क्याम्पसले २०५३ सालबाट त्रिविको कानुन विषयको एलएलबीको पढाइ सुरु गरेको थियो। क्याम्पसले बिहानी शत्रमा एलएलबीको कक्षा सञ्चालन गर्दै आएको छ।
२०७५ सालमा क्याम्पसले विद्यार्थी संगठनहरूको दबाबमा १० हजार ८६३ जना विद्यार्थीलाई एकैपटक भर्ना लिएको थियो।