काठमाडौं– योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के?’ लोकार्पण गरिएको छ।
कोभिड–१९ को बढ्दो दोस्रो लहरका कारण पुस्तक टेलिभिजनमार्फत लोकार्पण गरिएको हो ।
उद्यमी एवम् गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो र लेखकले मंगलबार संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
टेलिभिजनमा पुस्तक लोकार्पणका अवसरमा जीवन, जगत्, मानिसका इच्छाआकांक्षा, योग, ध्यान अनि यसको प्रभाव आदिका विषयमा साहित्यकार अमर न्यौपानेले लेखक अधिकारी र उद्यमी महतोसँग अन्तर्संवादसमेत गरेका थिए।
लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठिक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने बताए।
‘आन्तरिक जीवन र बाह्य जीवनबीचको द्वन्दव् पनि मानिसको सबभन्दा ठूलो लडाइँ हो। त्यसलाई थोरै भए पनि समाधान दिने जमर्को पुस्तकले गरेको छ,’ उनले भने।
धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा पनि उनले पुस्तकमा उल्लेख गरेका छन्। ‘मनले चाहेको रोज्दा कहिलेकाहीं धन पाइन्न,’ उनी भन्छन्, ‘धनको कुरा रोज्दा कहिलेकाहीं मन पाइन्न।’ मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पनि पुस्तकमा महत्वका साथ उठाइएको अधिकारीले बताए।
साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ। मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ। तर जीवनमा साधनालाई छुटाउनुहुँदैन। उनी थप्छन्, ‘जीवनको भुमरी भनेको अनिर्णय हो। यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकमार्फत गर्न खोजेको छु।’
उद्यमी महतोले मानवजीवनमा निर्णयशक्ति अभिवृद्धि गर्ने पुस्तक ‘आखिर रोज्ने के?’ रहेको बताए। उनले भने, ‘यो पुस्तकले भन्न खोजेको आशय मनलाई रोजौं अर्थात् मनको आवाज रोजौं भन्ने हो।’
जीवनलाई शान्त अनि सुसंस्कृत बनाउन चाहनेलाई यो पुस्तक अति उपयोगी हुन सक्ने उनले बताए। ‘यसले स्वस्थ जीवनको मार्गनिर्देश मात्र गर्दैन, सभ्य समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ,’ उद्यमी महतोले भने।