काठमाडौं– बलात्कार सम्बन्धी कानुन कमजोर हुँदा दक्षिण एसियाली मुलुक (सार्क) मा महिला तथा बालबालिकामाथि यौन हिंसाका घटना बढेको पाइएको छ।
महिला अधिकारका पक्षमा वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ‘इक्वालिटी नाउ’ र ‘डिग्निटी एलाइन्स इन्टरनेसनल’ ले हालै प्रकाशित गरेको प्रतिवेदनमा भएका कानुन पनि कार्यान्वयन नहुँदा बलात्कारको जोखिम बढेको औंल्याइएको छ।
‘दक्षिण एसियामा यौन हिंसा पीडितलाई न्यायमा कानुनी तथा अरू अड्चन’ नामक उक्त प्रतिवेदनले यौन हिंसासम्बन्धी कडा कानुन निर्माण गर्न, पीडितको न्यायमा पहुँच पुर्याउन र दण्डहीनता अन्त्य गर्न आह्वान गरेको छ।
दुई संस्थाले नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकामा महिला अधिकारका सम्बन्धमा अध्ययन गरेका थिए। अध्ययनको निष्कर्ष छ, ‘दक्षिण एसियाका ६ मुलुकमा बलात्कार तथा यौन हिंसाको जोखिम बढेको छ।’
अध्ययनमा नेपालका तर्फबाट ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह’ ले प्रतिनिधित्व गरेको थियो।
समूहले बुधबार जारी गरेको सूचनामा नेपालमा पीडितले उजुरी गर्ने समयावधिमा कमी, प्रमाण प्रस्तुतीकरणलाई निषेध गर्ने प्रावधान अभावजस्ता समस्या रहेको उल्लेख छ।
पीडकलाई कम सजाय, अपराधीलाई सजाय दिलाउन प्रहरी प्रशासनको उदासीनता, जातीय तथा धार्मिक भेदभाव र मुद्दा फिर्ता लिन बाध्य पार्ने परिपाटीले बलात्कार तथा यौंन हिंसा बढेको समूहले जनाएको छ।
प्रतिवेदनमा बलात्कार तथा यौन हिंसासम्बन्धी काननु बनार्ई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दक्षिण एसियाली देशहरूलाई आह्वान गरिएको छ।
