नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।आफूलाई सङ्क्रमण पुष्टि भएको गान्धीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।
'सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ। पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला,' उनले ट्विटमा लेखेका छन्।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन्। गान्धी पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्यालीहरुमा सहभागी भएका थिए। तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी कार्यक्रम स्थगित गरेका थिए।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई दृष्टिगत गरी आफूले सबै र्याली स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका छन्।