काठमाडौं– दोस्रो चरणको कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै यती एयरलाइन्सले स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ। लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डमा कडाइ गरेको जनाएको छ।
यात्रुलाई सुरक्षित र संक्रमणरहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउँदै आएको एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए।
यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई बेला–बेला परिमार्जन गरी सोको पालना नियमित भए–नभएको अनुगमन गरी पूर्ण अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना संक्रमण नभएको उनको भनाइ छ।
यतीले पहिलो पंक्तिमा कार्यरत शतप्रतिशत कर्मचारीहरुलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोस्रो चरणको खोप लगाउने व्यवस्था मिलाइसकेको जनाएको छ। उडानपहिले वायुयानको क्याबिन, र्याम्प बस, लगेज तथा सामान निसंक्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको छ।
यती एयरलाइन्सले कोभिड–१९ शंकास्पद र संक्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै वृद्ध, दीर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ।
यतीले यात्राका क्रममा भौतिक दूरी कायम गर्न, यात्रुलाई क्याबिनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँड्डुल नगर्न आग्रह गरेको छ।