काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको लागि १ खर्ब ३७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले सो मन्त्रालयलाई सिलिङ अनुसारको नै बजेट निर्माण गर्न निर्देशन दिएको हो।
मन्त्रालयले आगामी आर्थिक वर्षको लागि ६९ वटा विभिन्न आयोजनाहरुको लागि बजेट छुट्याएको छ।
चालू आर्थिक वर्षको लागि मन्त्रालयले १० अर्ब ३७ करोड ४९ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ पाएको थियो। मन्त्रालयले आगामी आर्थिक वर्षको लागि सबैभन्दा बढी बजेट सडक सुधार आयोजनाको लागि प्रस्ताव गरेको छ।
सो आयोजनाको लागि मन्त्रालयले ११ अर्ब ७९ करोड ९७ लाख रुपैयाँँ बजेट प्रस्ताव गरेको छ। आयोजनाको लागि ११ अर्ब ३५ करोड २० लाख वैदेशिक ऋण र बाँकी ४४ करोड ७७ लाख रुपैयाँ सरकारले दिनुपर्ने गरी बजेटमा प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षमा सो योजनाको लागि ६ करोड ३७ अर्ब रुपैयाँमात्र बजेट विनियोजन भएको छ।
त्यस्तै मन्त्रालयले नागढुंगा सूरुङमार्ग निर्माण आयोजनाको लागि ९ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। सो आयोजनाका लागि ९ अर्ब ३६ लाख वैदेशिक ऋण तथा ४७ करोड ८२ लाख रुपैयाँ सरकारले स्रोत जुटाउने गरी बजेट प्रस्ताव गरिएको मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रतिनिधिसभाको बिहीबार बसेको अर्थ समिति बैठकमा जानकारी दिए।
चालू आर्थिक वर्षमा सो आयोजनाको लागि मन्त्रालयले जम्मा १ करोड ३६ लाख रुपैयाँ मात्र रकम पाएको छ।
रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाका लागि पनि मन्त्रालयले ८ अर्ब ८९ करोड ४५ लाखको बजेट अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा प्रस्ताव गरेको छ। त्यसको लागि सबै सरकारले नै व्यहोर्ने गरी बजेट तर्जुमा गरेको पनि सचिव श्रेष्ठले जानकारी दिए। चालू आर्थिक वर्षमा सो आयोजनाको लागि २ करोड ३७ लाख रुपैयाँ बजेट परेको छ।
त्यस्तै काठमाडौं तराई मधेश फाष्ट ट्रयाकको लागि ८ अर्ब ८४ करोड ४ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। सो रकमको स्रोत सबै सरकारले नै जुटाउनुपर्ने प्रास्तावित बजेटमा उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा सो सडक आयोजनाको लागि १२ करोड ८४ लाख रुपैयाँ विनियोजन भएको छ।
त्यस्तै पुष्पलाल राजमार्ग (मध्य पहाडी राजमार्ग) को लागि ८ अर्ब ३ करोड ४५ लाख प्रस्ताव गरेको छ भने सम्पूर्ण रकम सरकारले नै व्यहोर्ने गरी बजेट प्रस्ताव गरिएको छ। चालू आर्थिक वर्षको लागि सो आयोजनाको लागि सरकारले ९ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
जलमार्गको लागि १४ अर्ब बजेट प्रस्ताव
मन्त्रालयले जलमार्गको लागि पनि १४ लाख रुपैयाँ बराबरको बजेट अर्थमन्त्रालय समक्ष प्रस्ताव गरेको छ। हालसम्म जलमार्गको बारेमा कुनै पनि अध्ययन नभए पनि सो आयोजनाको लागि पनि मन्त्रालयले बजेट प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षको लागि ३० लाख रुपैयाँ बराबरको बजेट पाएको जलमार्ग आयोजनाले आगामी आर्थिक वर्षको लागि भने आधाभन्दा बढी रकम घटाएर प्रस्ताव गरेको छ।
२४ वटा आयोजनाहरु थपिए
मन्त्रालयले २४ वटा नयाँ आयोजनाहरु थपेको छ। चालू आर्थिक वर्षमा ४५ वटा आयोजनाहरु सन्चालनमा रहे पनि मन्त्रालयले तप २४ वटा आयोजनाहरु नयाँ बनाएर ६९ वटा आयोजनाहरुका लागि बजेट माग गरेको हो।