काठमाडौं- भन्सार छली पोते पैठारी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ५ जना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
धनुषा जिल्ला देवपुरा रुपैठा स्थायी ठेगाना भई हाल बाङ्गेमुढा, काठमाडौं बस्ने जय पशुपति इम्पेक्सका प्रोप्राईटर रेखादेवी दाससमेत ५ जनाविरुद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।
उनीहरूले एक करोड १३ लाख ५ हजार ५१४ रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ। उनीहरूबाट बिगो जफत असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।
उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को खण्ड (क), (ख), (छ)र (झ) बमोजिमको कसुर गरेको आरोपपत्रमा उल्लेख छ।
जय पशुपति ईम्पेक्सकी दाससमेतले भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठको मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतलमाथि त्रिपालले छोपी पोते पैठारी गरेका थिए। उक्त पोतेको भन्सार नतिरेको पाइएपछि मुद्दा दायर गरिएको विभागको भनाइ छ।