विराटनगर – विराटनगरमा कोरोना संक्रमण बढ्दो छ। एक सातामा विराटनगरमा ७५ नयाँ संक्रमित थपिएका छन्। यस्तै एक जनाले ज्यान गुमाइसकेका छन्।
एक साताको अवधिमा मोरङ्गमा ७९ जनामा कोरोना संक्रमण देखिएको छ। ७९ जना संक्रमित मध्ये ७५ जना विराटनगरका हुन्। अन्य ४ जना ४ वटा स्थानीय तहका १/१ जना हुन्।
विराटनगर बाहेक सुन्दरहरैचा, बुढीगंगा, कानेपोखरी र पथरीका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। चैत २० पछि विराटनगरमा संक्रमण ह्वात्त बढेको देखिन्छ। चैत २० अघि विराटनगरमा संक्रमितको संख्या शुन्यको अवस्थामा थियो।
पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च छ। नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएपछि कोरोना फैलिने जोखिम झन् बढेको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीको भनाई छ।
संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर नियन्त्रणका लागि पहल नगरे अवस्था भयावह बन्नसक्ने उनको भनाइ छ। पर्याप्त मात्रामा एन्टिजेन नहुँदा पनि परीक्षणमा समस्या भएको कार्कीले बताए। विराटनगरमा संक्रमित तीव्र रुपमा बढे पनि कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। कन्ट्याक्ट ट्रेसिङ हुन नसक्दा संक्रमण तीव्र रुपमा फैलने समुदाय चिकित्सक तथा विराट मेडिकल कलेजका सहप्राध्यापक डा. सुर्य पराजुली बताउँछन्।
स्वास्थ्य मापदण्ड पालना हुन सकेन
विराटनगरमा संक्रमण बढ्दो छ। तर, स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन। संक्रमण बढे लगत्तै जिल्ला प्रशासन कार्यालय मोरङ्गले २५ जना भन्दा बढी एकै स्थानमा सहभागी हुनबाट रोक लगाउन निर्णय गर्यो। त्यसको पालना हुन सकेको छैन।
हाट बजार, सिनेमा हलमा स्वास्थ्य मापदण्ड पालना भएको देखिँदैन। विराटनगरमा चैत २६ देखि विराट गोल्डकप चलिरहेको छ। दैनिक ५ हजार बढीको गोल्डक कपमा सहभागिता हुने गरेको छ।
यसमा पनि स्वास्थ्य मापदण्ड अपनाएको देखिँदैन। कोरोनाको दोश्रो लहर चले पनि स्वास्थ्य मापदण्ड पटकै पालना भएको नदेखिएको जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठ बताउँछन्।
अस्पताल तयारी अवस्थामा
कोरोना संक्रमण बढेलगत्तै कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको प्रदेश सरकारको दावी छ। प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल र नागरिक सेन्टरले हस्तान्तरण गरेको नागरिक केयर सेन्टरलाई तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन्।
उनले विराटनगर बाहिरका अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको बताइन्। उनले भनिन्, ‘यसअघि सञ्चालित कोभिड अस्पताल र आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा रहन भनिएको छ।’ सरकारले तत्कालका लागि १८० जनालाई व्यवस्थापन गर्न सकिने बताए पनि अस्पतालमा अहिले ८ जना मात्र उपचाररत छन्।
१९५ जना सक्रिय संक्रमित मध्ये १८७ जना होम आइसोलेसनमा छन्। सामाजिक विकास मन्त्रालयका अनुसार २ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र ६ जना कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत छन्। होम आइसोलेसनमा रहेका विराटनगरका एक संक्रमितले अस्पतालमा खासै हेरचाह नहुने देखिएकाले घरमै बसेको बताएका छन्।
सरकारको तयारी देखिएन
कोरोना संक्रमण बढेसँगै प्रदेश सरकार र स्थानीय सरकारले कोरोना संक्रमणको नियन्त्रणका लागि योजनावद्ध काम गरेको देखिएको छैन। सिमावर्ती नाकाबाट नेपाल प्रवेश गर्नेको लर्को लागेको छ। उनीहरू सोझै घर पुग्ने गरेका छन्।
यसले समुदायमा संक्रमण फैलिने त्रास देखिएको छ। होल्डिङ सेन्टर, क्वारेन्टाइनको प्रवन्ध नहुँदा जोखिम बढेको विराटनगरका बासिन्दा दीपेन्द्र थापाले बताए। उनले भने, ‘सरकारले कोरोनाको पहिलो चरणमा सरकारले जसरी काम गरेको थियो, दोश्रो लहर चल्दा त्यस्तो देखिएन।’कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नचाले जोखिम बढ्ने उनले बताए।