काठमाडौं– नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपैयाँ राशिसहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय भएको छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने भएको हो।
नइ प्रकाशनद्वारा नै उपाधि, सम्मान र पुरस्कारले विभूषित उल्लिखित पाँच जना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ।
नइ रजत महोत्सवका अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो।