हरिद्वार- भारतको हरिद्वारमा भइरहेको कुम्भमेलामा सहभागी सयौँको संख्याका तीर्थालुहरूलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ। मेलामा सहभागी ९ जना विशिष्ट महन्तसहित सयौँको संख्यामा कोरोना संक्रमित भएको बिबिसीले समाचार प्रकाशन गरेको छ।
मेलाको कोरोना परीक्षण सेलका कर्मचारीका अनुसार मंगलबार मेलामा सहभागी ११० जना कोरोना संक्रमित पाइएको थियो। यसअघि सोमबार पनि १ सय ८४ जना मेलामा सहभागीहरू कोरोना संक्रमित भेटिएका थिए।
कोरोना पोजेटिभ भेटिएका केहीलाई आइसोलेसनमा पठाइएको छ भने अन्य केहीलाई अस्पताल भर्ना गरिएको छ। ठूलो भीड भएका कारण मेलामा स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गराउन गाह्रो भएको प्रहरीले उल्लेख गरेको छ।
मंगलबार हरिद्वारमा मात्र ५ सय ९४ जना कोरोना संक्रमित भेटिएका थिए। योसहित हरिद्वारमा संक्रमितको कुल संख्या २ हजार ८१२ पुगेको छ। मंगलबार र सोमबार मात्र हरिद्वारमा १ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
बुधबार दिउँसोसम्ममा कुम्भ मेलामा करिब ९ लाख मानिसले गंगास्नान गरेको बताइएको छ। कुम्भमेलामा स्नान गरे पाप नाश हुने हिन्दूहरूको विश्वास छ।
मेलामा सहभागी भएका उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि कोरोना संक्रमण भएको बताइएको छ। यस्तै उत्तरप्रदेशका हालका मुख्यमन्त्री योगी आदित्यनाथ पनि संक्रमित भएको बताइएको छ। तर उनी मेलामा सहभागी भएका थिएनन्।
नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले मेलामा सहभागी हुँदै गंगास्नान गरेका थिए।