झम्के साँझसँगै काठमाडौं सुनसान हुन्छ। ठमेलचाहिँ जाग्छ। नवदुलहीझैं सिँगारिँन्छ ठमेल।
काठमाडौं मस्त निद्रामा हुँदा ठमेल जाग्छ। दिनभरको बेरंगी ठमेल रात परेपछि रंगीन हुन्छ। ठमेलको परिचय नै रातमा छ। दिनमा त सहरको एउटा गल्ली न हो। यद्यपि ठमेलसँग पर्यटन व्यवसाय जोडिएको छ।
राति आफ्नै धुन र तालमा हुन्छ ठमेल। त्यसैले हरेक रात गुल्जार रहन्छ ठमेल। कोरोना महामारीले एक वर्षदेखि निदाएको ठमेल केही महिनादेखि जागा भएको छ।
यो क्रम रोकिन्छ वा जारी रहन्छ भन्नेचाहिँ निश्चित छैन। किनकि कोरोना संक्रमणको ग्राफ बढ्दो छ। सरकारले सजग रहन अपिल गरिसकेको छ।
१९ गते शुक्रबार। साँझ आठ बजेपछि भरिँदै थिए ठमेलका गल्ली। प्यास मेटाउन ग्राहक खोज्नेको लर्को, यात्रु खोज्ने ट्याक्सी र पठाओका बाइकका ताँती, क्लब धाउनेको भीड, गीत गाउनेको समूह। यौन अल्पसंख्यकको चमकदमक।
मित्र प्रेम चन्दसँग म पनि भीडमा ठमेलियौं अर्थात् हुलमा मिस्सियौं, कोरोना महामारीको प्रवाह नै नगरी। केशरमहलबाटै मगमगाइरहेको अत्तरले हामीलाई तानिहाल्यो। हामी ठमेलको मूल सडकतर्फ आकर्षित भयौं।
पाइलैपिच्छे मिठो मुस्कान मुस्कुराइरहेका मानव भेटिन्थे। जाऔं न! रेट महँगो छैन। विनम्रतापूर्वक मोलमोलाइ भइरहेका आवाज सुनिन्थे। केही बेरमा उनीहरू हराउँथे। अर्को समूह आइपुग्थ्यो। उनीहरू पनि कता जान्थे। तर लेनदेनको कुरा भइरहेका हुन्थे। ट्याक्सी, निजी कार र बाइकमा कुदिरहेका थिए जोडीहरु।
कतिको रहर होला त कतिको बाध्यता! एक सर्को मुस्कानमा ग्राहक खोज्ने प्रशस्त देखिँदा रहेछन् ठमेलमा।
अरे वाउ, हेर त क्या ज्यान यार– प्रेमले भने। दुवै खितितिती हाँस्यौं। त्रिदेवीमार्गबाट हाम्रा पाइला धेरै अगाडि बढिसकेका थिए।
हामी उत्साहित थियौं। एक प्रकारले उल्लसित पनि थियौं। तर कहाँ जाने? केही बेर हामी अलमलमा पर्यौं। ठमेल आएपछि क्बलको मज्जा लिने निधो भयो। अनि हामी राति १० बजे क्लबभित्र छिर्यौं।
क्लबको वातावरण मादक बन्दै थियो। एकाधबाहेक सबै टेबल प्याक। युवक–युवती। अधबैंसे पुरुष र युवती। युवा समूह। हरेकसँग टेबलमा मदिराका बोतल, गिलास र हुक्का।
धुवाँले टम्म भरिएका कोठा। चुरोट नखाने त भेट्टाउनै कठिन। हामी पनि त्यही वातावरणमा मिसिनैपर्यो। मैले केही त खानैपर्ने प्रस्ताव गरें। प्रेमले सोधे, ‘के मगाऔं।’
एकएकवटा क्यान बियर खाने सहमति भयो। एक क्यानको ७५० रुपैयाँ। ‘कति महँगो? बाहिरै खाएर आउनुपर्ने रहेछ,’ प्रेमले भने। मैले भनें, ‘आइहालियो, नखाएर त भएन।’
हाम्रो उद्देश्य बियरको चुस्कीमा रमाउनु भन्दा कुर्सीमा बसेर त्यहाँको रमाइलोमा सहभागी हुनु थियो।
भीड बढ्दै थियो। उल्लास भरिँदै थियो। हाम्रा आँखा चारैतिर दौडिए। कहिले कता ठोकिन्थे, कहिले कता। युवतीहरुको परिहनले हामी तानिन्थ्यौं। युवतीका अधरमा नजर कति ठोकिए–ठोकिए। चुरोटको खिल्लीसँग नारिरहेका नारीतर्फ म कैद भइरहें।
मेरो आँखा कसले कस्तो लगाएर आएको छ, कसले यौवन देखाइरहेको छ भन्नेमा केन्द्रित थिए। त्यस्तै युवतीहरूले कसरी चुरोट तान्दा रहेछन् भनेर पनि म लठ्ठ परेर हेरिरहन्थें।
एक क्यान बियर सक्न करिब डेढ घण्टा लाग्यो।
बियर सकेर दुवै जना बार्दलीमा उभियौं। तल्लो तलामा मदिरा र धुवाँमा रमाइरहेकाको चित्र पनि आँखामा कैद गर्नु थियो।
यत्तिकैमा छेउमा सेतो पहिरनमा दुई यौवना देखा परे।
मैले भनें, ‘प्रेमजी, लौ आयो है।’ प्रेमले हाँस्दै भने, ‘चिज राम्रो रैछ।’
उनीहरू कालो रङको चुरोट सल्काएर त्यसकै धुवाँमा रमाउन थाले। बैंसालु उन्मादमा रहेका युवती निकै बेर नाचिरहे।
उनीहरू हल्लिएका हामीले धीत् मरुन्जेल हेर्यौं। उः त्यो कालो, रातो लगाएको राम्रो रैछ यस्तैयस्तै कुरा गर्दै।
घडीमा १ बज्दा ठमेल जागा नै थियो। चुरोट र हुक्काका धुवाँसँगै बत्तीका रंगीन किरणले क्लब पूरै रङमङिएको थियो।
अंग्रेजी गीत घन्किरहेका थिए। मैले छेउटुप्पोसम्म पत्ता लागाउन सकिनँ। नाच्नेहरूले गीत बुझेका थिए वा थिएनन् तर नाचिरहेका थिए निरन्तर। सबै झुमेकै थिए, रमाएकै थिए। जोडीहरु अंकमालमै हल्लिरहेका थिए।
खाइदिन्छु मोई अब थुतुनो जोडेर
अब लैजान्छु तिमीलाई काँधमा चढाई...
चर्चित र्यापर भिटेनको यो गीत बजेपछि माहोल झन् तात्यो। नाच्न नजान्ने हामी पनि दुई घण्टा जति हल्लियौं।
जोडी भएकाहरू जोडीसँग र नभएकाहरू एक्लै कम्मर हल्लाइरहेका थिए। हरेकका खुट्टा लरबराइरहेका थिए। कोही होसमा थिएनन्।
नाचिरहेका बालाजुका दिलीप शाही ठकुरी भन्दै थिए, ‘बल्ल क्लब खुल्न थालेका छन्, रमाइलो गर्न आउनैपर्यो।’
त्यहाँ पुगेका हरेकलाई रमाउनु छ, हल्लिनु छ, कोरोना भाइरसको मतलबै छैन।
क्लबभर बाउन्सर खटिएका थिए। उनीहरूले भिडियो खिच्न दिइरहेका थिएनन्। कारण थियो भीडभाड। डर थियो, फोटो र भिडियो बाहिरियो भने क्लब बन्द पो हुन्छ कि!
बाउन्सर नम्बर ७ का युवक भन्दै थिए ‘फोटो–भिडियो नखिच्नुस है, कोरोना छ, भीडभाड नगर्नू भनेको छ सरकारले। गाह्रो हुन्छ।’
त्यसो क्लबबाहिर सडकमा प्रहरी ओहोरदोहोर गरिरहेका थिए। उनीहरूले चाहे क्लब प्रवेश गर्न सक्थे। तर त्यसको कुनै संकेत थिएन।
गाउँमा प्रायः रक्सी खाएपछि झगडा परेकाे देखेका हाम्रा लागि क्लबको परिवेश निकै भिन्न लाग्यो। क्लबमा सयौंको संख्यामा युवकयुवती झुमिरहेका छन्। तर कोही कसैसित विवाद गरेको देखिएन। सबै मस्त छन्, सबै व्यस्त छन्।
त्यही बीचमा हामीले केही व्यक्तिसँग कुरा गर्यौं। लामो समयदेखि ठमेलको सडकमा व्यापार गर्दै आएका ओमनाथ पाठकले भने, ‘एक वर्षसम्म सुनसान रहेको ठमेल बल्ल जाग्दै छ। अहिले मान्छे आउन थालेका छन्।’ भीडभाड बढ्दा व्यापार हुने भएकाले खुसी छन् उनी।
उनले भने, ‘राम्रा मान्छे राति यस्तो ठाउँमा आउँदैनन्। ठमेल पैसा उडाउन आउने ठाउँ हो।'
चहलपहल बढे पनि पहिले जस्तो नभइसकेको उनले बताए। पाठक भन्छन्, ‘कोरोनाले गर्नुगर्यो, फेरि महामारी आयो भने त मरिन्छ कि!’
कपडा व्यापारी शकुन्तला देवकोटा होटल र क्लबमा भीडभाड बढे पनि ट्रेकिङतिर व्यापार नै नभएको बताउँछिन्। उनी भन्छिन्, ‘व्यापार हुन विदेशी आउनुपर्छ। उनीहरु आएका छैनन्। महामारीले सताउनुसम्म सतायो।’
करिब तीन बजेपछि हामीले क्लबबाट बाहिरिने निर्णय गर्यौं। बाहिर आएर हेर्दा लाग्यो, ठमेलमा कुनै महोत्सव चल्दै छ।
सडक पेटीभर मान्छे नै मान्छे। कोही अँगालो कसेर बसिरहेका त कोही मोलमोलाइमा। कोही सडक पेटीमै मदिराको चुस्की लगाउँदै गरेका।
सडकछेउमा लहरै ट्याक्सी थिए। पेटीमा यौन क्रियाकलापका लागि मोलमोलाइ गर्नेहरू। कुरा मिल्यो भने उनीहरू आफ्नै स्कुटीमा राखेर लग्थे।
हेर्दाहेर्दा एक युवतीले दुई जना बोकेर गइन्। मैले ‘लौ है केटाहरूको घरबार भयो’ भन्दा प्रेम फिस्स हाँसे।
यत्तिकैमा परबाट आएका तीनमध्ये एक जना मसँग टाँस्सिए। उनका हात कता–कता दैडिन थाले। मलाई काउकुती लाग्यो। लाजले पानी पानी भएँ।
उनले हाँस्दै भनिन्, ‘तुजपे लुटजाऊँ। जाने हो?’ मैले नाइँ भनें। उनको पन्जाबाट छुट्दा म निकै हलुका भएँ।
उनको पन्जाबाट छुटेपछि म सडकको भीड र ट्याक्सीको फोटो खिच्न लागें।
परबाट एक जना तेस्रो लिंगी ‘हाम्रो फोटो खिचेर व्यापार चौपट बनाउन खोज्यो' भन्दै कराइन्। चारपाँच जना ताली पड्काउँदै आए। उनीहरूले धम्की दिए, ‘फोटो नखिच ह, ठिक हुन्न।’
प्रेम अगाडि पुगिसकेका रहेछन्। मलाई डर लाग्यो, मैले खिचेको छैन भन्दै मोबाइल देखाउन खाजें। अघि ‘तुजपे लुट्जाऊँ’ भन्नेले ‘ल ल जाऊ’ भनेपछि मन शान्त भयो।
‘ए चस्मा, यता आऊ न कति लजाको’ भन्दै एक जना पछि लाग्दै थिइन्।
म हाँस्दैहाँस्दै उनीहरूबाट टाढिएँ। रमिता हेर्दाहेर्दै बिहान चार बज्न लागेछ। ठमेलमा चहलपहल घटेको थिएन। हामी भने थाकिसकेका थियौं। दुवै जना लुरुलुरु अनामनगरस्थित निवासतर्फ मोडियौं।