काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ। माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीको माधव नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिइसकेको अवस्थामा अविश्वास प्रस्ताव पारित हुन नसक्ने देखिएकाले माओवादी केन्द्रले पनि फिर्ता लिएको हो।
'तत्कालीन नेकपा हुँदै मुख्यनमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि माओवादी केन्द्र र एमाले ब्युँतिएपछि परिस्थिति बदलियो,' माओवादी केन्द्रका संसदीय दलका नेता ओङ्बोले नेपाल समयसँग भने, 'पारित नहुने अविश्वास प्रस्तावको राजनीतिक रूपमा अर्थ नहुने भएकाले माओवादी केन्द्रले फिर्ता लिएको हो।'
अविश्वास प्रस्तावमा उल्लेख गरिएका विषय भने आफूहरूले उठाउन नछोड्ने उनले उल्लेख गरे।
तत्कालीन नेकपाका ३७ जना सांसदले हस्ताक्षर गरी मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।