काठमाडौं– नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी ओलीका अघि केही नलागेको भन्दै व्यंग्य गरेका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार शून्य समयमा बोल्दै बस्नेतले दाहालको मनोवाद प्रस्तुत गर्दै व्यंग्य गरेका हुन्।
‘चुनावअघि गठबन्धन बनाएँ। जितेपछि एकीकरण गराएँ। सरकार बनाउँदा आधा कार्यकाल मागें। कार्यकारी अध्यक्ष पाएपछि भइगो भनेर छोडें। कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागें। संसद् विघटन गरेर परिवर्तनको घोषणा गरें। निर्वाचनको घोषणा गरियो, लोकतन्त्र संकटमा पर्याे भनेर कराएँ, प्रतिगमन भयो भने चिच्चाएँ,’ उनले भने, ‘मिसन मिडिया चलाएँ, वकिल र नागरिक समाज उचालें। अदालत गुहारें। माइतीघर मण्डलामा सूर्यको चिह्न लगाएँ। संसदीय दलको नेता बनें, अध्यक्ष घोषणा गरें। ११ गतेको फैसलाले मख्ख परें। लड्डु खाएँ। कांग्रेस र जसपाको अफिस धाएँ। नागरिक समाजको डबली धाएँ। २३ गतेको फैसलाले आफ्नै साइजमा आएँ।’
उनले दाहालले कांग्रेस र जसपालाई नयाँ गठबन्धन बनाउन गरेको प्रस्तावलाई अस्वीकार गरेको भन्दै व्यंग्य गरेका छन्।
‘विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ। अर्को सरकार बनाउन खोज्छु सक्दिनँ। प्रधानमन्त्री बन्नुस् भन्दा कसैले टेर्दैन,’ बस्नेतले भने, ‘अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ। हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सिट खाली छ। केपी ओलीको अघि मेरो केही लागेन। जसपा मानेन, कांग्रेस जागेन।’