काठमाडौं- तेजाबलगायतका घातक रासायनिक पदार्थ आयात गर्न सरकारको पूर्वस्वीकृति लिनुपर्ने भएको छ। सरकारले असोजमा ल्याएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को व्यवस्थाअनुसार तेजाबलगायतका घातक रासायनिक पदार्थको आयत गर्न चाहने उद्योगलाई पूर्वस्वीकृति लिन गृह मन्त्रालयले सूचित गरेको हो।
औद्योगिक प्रयोजनको लागि तेजाबलागायतका रासायनिक पदार्थ आवश्यक पर्ने भएमा वार्षिक रूपमा आयात गर्नुपर्ने परिमाण खुलाएर ७ दिनभित्र पूर्व स्वीकृतिका लागि निवेदन दिन गृहले भनेको छ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ मा उद्योगहरूले पूर्वस्वीकृति लिएर मात्र आयात गर्न पाउने व्यवस्था छ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिकि वितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्न 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७' ल्याइएको थियो।
अध्यादेशको दफा (५) मा उद्योगमा प्रयोग हुने तेजाबसहितका घातक रासायनिक पदार्थ आयात गर्न सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था छ।
