काठमाडौं– नेपालको एउटा लक्ष्य हो साफ च्याम्पियनसिप जित्नु। यो प्रतियोगिता घरेलु भूमिमा दुई पटक आयोजना गरिसकेको नेपालले उपाधि चुम्न अझै सकेको छैन।
१९९३ मा सुरु भएको साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल फेडेरेसन(साफ)ले आयोजना गर्दै आएको छ। तर नेपाल सेमिफाइनलभन्दा अगाडि कहिल्यै बढ्न सकेको छैन।
त्यसैले नेपाली फुटबलप्रेमीका लागि एकमात्र लक्ष्य हो साफ च्याम्पियनसिप जित्नु। साफमा सर्वाधिक सफल टिम हो इन्डिया। त्यसैले नेपाल इन्डिया वा यस्तै बलियो टिमलाई हराउँदै उपाधि जित्न चाहेको कप्तान किरण चेम्जोङले बताउँदै आएका छन्।
उस्तै महत्वकांक्षाले भरिएको टिममा प्रशिक्षक बन्न आइपुगेका छन् कुबेतका अब्दुल्लाह अल्मुताइरी। उनलाई आज (आइतबार) अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।
एक वर्ष नेपाली पुरुष फुटबल टिम सम्हाल्ने मौका पाएका अल्मुताइरी नेपाली टिमलाई गति दिन आएको बताउँछन्। उनी भन्छन्, ‘म नेपालीहरुलाई आफ्नो टिमबारे गर्व गर्नलायक बनाउन नेपाल आएको हो।’
उनी नेपाली खेलाडीको उत्साह र जोशबाट लोभिएर नेपाल आएको बताउँछन्। पछिल्लो पटक नेपालले खेलेको थ्री नेसन्स कप हेरेका उनी नेपाली खेलाडीको त्यो स्तरको प्रदर्शनबाट भने सन्तुष्ट नभएको बताउँछन्।
‘हामीले त्रिदेशीय शृंखला निकै उत्साहसाथ हेर्यौँ। हामीले योभन्दा धेरै उत्साहित जित निकाल्नु पर्नेछ,’ उनले भने, ‘तर बंगलादेश जस्तो टिमसँगको जितले मलाई सन्तोष दिँदैन। बंगलादेशसँग पुरा बलका साथ खेल्न सकेन। योभन्दा राम्रो खेल्नसक्ने क्षमता हुन आवश्यक छ।’
नेपाली टिमलाई राम्रो बनाउने बताइरहँदा प्रशिक्षक अल्मुताइरीले टिमको प्रदर्शनको जिम्म पनि आफैँ लिने बताए।
अहिले नेपाली टिमका सदस्यहरु थ्री नेसन्स कप खेलेर बिदामा छन्। आउँदो वैशाख ११ बाट फ्रेन्चाइज फुटबल सुरु हुने भएकाले खेलाडी राष्ट्रिय टोलीबाट क्लबतर्फ गएका छन्। त्यसैले अहिल्यै एन्फाले बन्द प्रशिक्षणका लागि खेलाडी नबोलाउने भएको छ।
वैशाख अन्तिममा सुपर लिग सकिएसँगै कुबेतमा हुने विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु हुनेछ। ‘त्यसमा म बेस्ट खेलाडी छनोट गर्नेछु। हामी विदेशमा गएर पनि अभ्यास गर्नेछौं,’ बन्द प्रशिक्षणलाई अंकित गर्दै उनले भने, ‘त्यसले खेलाडीलाई बुस्टअप गर्नेछ। किनभने कुवेतमा खेल हुँदैगर्दा त्यहाँको वातावरणमा घुलमिल भएर खेल्न सक्नुपर्छ।’
त्यसपछि पनि एन्फाले हरेक महिना १४ देखि २० दिनसम्मको अभ्यास गराउने उनको तर्क छ।
साफ जिताउने लक्ष्य
उनी आफ्नो स्पष्ट लक्ष्य भनेको नै साफ जिताउने भएको बताउँछन्। ‘मेरो फाइनल लक्ष्य भनेको साफ च्याम्पियनसिप जिताउने हुनेछ। यदि मेरो कार्यकालमै साफ च्याम्पियनसिप आयोजना भए हामी त्यो जित्न कोशिस गर्नेछौं। त्यसैले साफको तयारी गराउनु मेरो प्रमुख उद्देश्य हो,’ उनले भने।
अल्मुताइरीले सुरुबाटै आफ्नो रणनीति ४–३–३ फर्मेसनमा खेलाउने बताउँछन्।
उनले थपे, ‘हाम्रो छिमेकी इन्डिया, श्रीलंका हामीभन्दा अघि छन्। जापान, कोरिया पनि फुटबलमा अघि बढिसकेका छन्। त्यसैले हामी किन अघि बढ्न सक्दैनौँ ? हामी त्यस्तै ठूलो लक्ष्य राखेर फुटबल खेल्नेछौं।’
उनी भन्छन्, ‘हामी डराएनौँ भने जे पनि गर्नसक्छौं। त्यसैले हामी ठूलो टिमसँग खेल्दा पनि डराउनु हुँदैन। त्यो नै मेरो फुटबल सिकाउने फर्मूला हो।’
खेलाडी छनोटको योजना
उनले टिम बिल्डिङमा आफ्नो फरक योजना रहेको बताए। ‘नेपाली टिमको सिनियर यू–२३ र यू–१९ टिमबाट ५१ खेलाडी सहभागी बनेका छन्। मसँग उनीहरुको सबै रिपोर्ट छ। कति समय उनीहरुले खेले। कति राम्रो गरे।’
राष्ट्रिय टिममा खेलेका खेलाडीको ड्रिबलिङ, पासिङ, क्रसिङ र सुटिङलगायत सबै रिपोर्ट हेरेर टिम छनोट गर्ने उनी बताउछन्।
त्यसका लागि उनी आफैँले खेलाडीको खेल विश्लेषण गरेर टिम बनाउने बताउँछन्। ‘मैले अहिले भएको २३ जनाको टिमबाहिर रहेका खेलाडी पनि हेरिसकेको छु। यसैले अहिलेभन्दा ८ जना बढाएर खेलाडी संख्या तयार गरेको छु। ती खेलाडी क्वालिफायरमा सहभागी बन्न सक्नेछन्,’ उनले भने।
उनलाई विकास मल्ल र किरण श्रेष्ठले सहायक प्रशिक्षकका रुपमा सहयोग गर्नेछन्। अब नेपालले आउँदो जुनका विश्वकप क्वालिफयारका तीन खेल खेल्दैछ।
को हुन अल्मुताइरी ?
कुवेती नागरीक अल्मुलाइरीले कुबेत र साउदी अरेबियाका विभिन्न क्लब सम्हालिसकेका छन्।
उनले किर्गिस्ताको यू–१६ टिमको मूख्य प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्। ‘मैले नेशनल सिनियर टिमको प्रशक्षण गराएको छैन। क्लब र उमेर समूहको टिममा अभ्यास गराएको छु। मैले २०११ बाट फुटबल प्रशिक्षण थालेको हो। मैले सुरुमा कुवेतको एक टिममा काम गरेको थिएँ,’ उनले भने।
फिफा प्रोलाइसेन्स बाहक उनलाई एन्फाले कतारी फुटबल एसोसिएसनसँगको सहकार्यमा नेपालमा बोलाएको हो।
युवा प्रशिक्षक अल्मुताइरी ३९ वर्षका हुन्। तर उनको खेलयात्रा भने लामो छैन। खेल जिवनमा चोटपटक सामान्य कुरा हो। त्यही चोटका कारण खेलमा फर्कन नसकेका उनले २९ वर्षबाटै फुटबल प्रशिक्षण थालेका थिए।