काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नै अर्का नेता वामदेव गौतमलाई प्रतिनिधि सभा निर्वाचनामा हराउनका लागि भूमिका खेलेको आरोप लगाएका छन्।
नेपाल-खनाल समूहले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
'ओलीले नेता-कार्यकर्तालाई हराउन भूमिका खेले। वामदेव कमरेड हराउन पनि भूमिका खेले,' भेलालाई सम्बोधन गर्दै उनले भने, 'अति भएर हामी अभियानमा लागेका छौं। हामी त अझै पनि भन्दै छौँ, आउनुस् २०७५ जेठ २ मा फर्किऔँ। केपी ओली बदलाको भावनाअनुसार चल्ने मानिस हुन्।'
ओलीको आलोचनामा लामै समय खर्चिएका नेता नेपालले मदन भण्डारी फाउन्डेसनका नाममा पार्टी चलाएर अघि बढ्न खोजेको पनि आरोप लगाए।
'तल्लो स्तरसम्म हामी (नेपाल-खनाल पक्ष) नै बलियो भएका कारण उनी (ओली) गुटबन्दी गरेर अगाडि बढे। मदन भण्डारी फाउन्डेसनको नाममा पार्टी चलाएर बढ्न खोजेका छन्,' उनले भने।
भेलालाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने कार्यक्रम छ।