काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिगर्मन गराउने खाका बनाउन प्रस्ताव गरेका छन्।
आइतबार बिहान ठाकुर निवास हात्तीवन पुगेर पौडेलले ओलीको विकल्प खोज्न तयार हुन आग्रह गरेका हुन्। करिब आधा घण्टा भएको छलफलमा पौडेलले अहिले विपक्षमा रहेका दलहरुबीच सहमति बन्न आवश्यक रहेको बताएका थिए।
‘ओलीको विकल्प खोजौं, तपाईंहरु तयार हुनुस्। त्यसका लागि तपाईं, प्रचण्ड र हाम्रो सभापति शेरबहादुरजी बस्नुस्,’ पौडेलले ठाकुरलाई राखेको प्रस्ताव उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘तीन नेता बसेर खाका बनाउनुस्, अनि अघि बढौं।’
पौडेलको प्रस्तावमा ठाकुरले आफू सकारात्मक रहेको बताएका थिए। ‘तपाईंको प्रस्तावमा म सकारात्मक नै छु। मैले पनि पार्टीमा छलफल गर्नुपर्छ। म छलफल गरौंला,’ पौडेललाई ठाकुरले भनेका थिए।
शुक्रबार बसेको कांग्रेसले शुक्रबार केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो।
केन्द्रीय समिति बैठकमा पौडेलले ओलीको निरन्तरताले व्यवस्थामाथि नै घात हुने खतरा रहेकाले उनलाई हटाउनैपर्ने बताएका थिए। केन्द्रीय समितिको निर्णयअनुसार नै पौडेलले ठाकुरसँग छलफल गरेका हुन्।
नयाँ सत्ता गठबन्धन निर्माणका लागि जसपा अनिर्णित छ। सत्ताको खेलमा निर्णायक देखिएको जसपा ओलीको पक्षमा खुल्दा उनको कुर्सी जोगिने अवस्था छ। कांग्रेस र माओवादीसँग मिल्दा सरकार बनाउन आवश्क पर्ने गणित पुग्छ।
तर, जसपामा ओलीसँग मिल्ने कि विपक्षी गठबन्धन बनाउने भन्ने विषयमा विवाद छ। ओलीसँग जसपाको ठाकुर खेमाले कार्यदल बनाएर छलफल अघि बढाएको छ भने उपेन्द्र यादव खेमा विपक्षी गठबन्ध बनाउनुपर्ने पक्षमा छ।