काठमाडौं - शनिबार साँझ करिब ८ बजे दाङबाट आएको एक बस नागढुंगास्थित चेक प्वाइन्टमा चेकिङमा पर्यो।
बसमा चेकजाँच गर्ने क्रममा प्रहरीको नजर बसभित्र यात्रु हिँड्ने ठाउँमा रहेको एउटा कार्टुनमा पर्यो।
प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुवाहक बसलाई रोकेर प्रहरीले चेक गर्दै थियो।
कार्टुन टेपले र्यापिङ गरिएको अवस्थामा बेवारिस थियो।
जब प्रहरीले कार्टुन खोल्यो त्यसपछि भेटियो ४३ लाख नगद र सुनका केही गहना।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हरियो रङको छड्के तिलहरीको ९ थान र ४३ लाख रूपैयाँ नगद फेला परेको हो।
प्रहरीका अनुसार उक्त कार्टुनमा एक हजार दरका ३९ सय थान र ५०० रूपैयाँका ८०० थान नोट गरेर ४३ लाख नगद फेला परेको हो।
प्रहरीले बसका चालकलाई सोधपुछ गरेपछि उक्त कार्टुन तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशलको रहेको खुलेको हो।
प्रहरीले कौशललाई पक्राउ गरेर सोधपुछ गर्दा रकम र सुनको गहनाको स्रोत खुलाउन नसकेको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
पक्राउ परेका सन्दीपलाई महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।