काठमाडौं – ठमेलमा डेरा गरेर बस्ने चिनियाँ नागरिक कोठामा डाँका तथा लुटपाट गर्ने गिरोहका चारजनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
चैत १६ गते राति सवा नौ बजेको समयमा काठमाडौं महानगरपलिका–२६ ठमेलस्थित ३४ वर्षीय चिनियाँ नागरीक युन छोइमनको कोठामा चार जनाको समूहले डाँका तथा लुटपाट गरेको थियो।
मुखमा नकाब लगाई कोठा भित्र प्रबेश गरेर चाइनिज नागरिक छोइमन, उनकी श्रीमती अञ्जली तामाङ, अञ्जलीका भाई प्रबेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी कोठा भित्र रहेको बेडको घर्रा भित्र राखेको धनमाल लुटेको प्रहरीले जनाएको छ।
धनमाल लुटेर फरार भएका चारै जनालाई परिसर र महानगरीय प्रहरी वृत लैनचौरको विशेष प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपालचोञ्क जुगल गाउँपालिका–४ घर भई काठमाडौं बस्ने २८ वर्षीय फुलकाजी तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ का २४ वर्षीय अमिर तामाङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ का २८ वर्षीय बुद्द तामाङ र गोकर्णेश्वर ३ कै २८ वर्षीय रोशन लामा रहेका छन्।
चारै जनाले चिनियाँ नागरिकको कोठाबाट नगद २० लाख, २८ हजार ६७० मुल्य पर्ने सुनको तिलहरी, ७० हजार मुल्य बराबरको दुईवटा औठी, २५ हजार मुल्य बराबरको सुनको बाला लुटपाट गरेका थिए। त्यस्तै एकलाख ८० हजार बराबरको ठूलो दुईवटा बाला र कानमा लगाउने ११ हजार बराबरको मुन्द्रा लुटेर लगेको पीडितले प्रहरी समक्ष बयान दिएका छन्।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ७ लाख ९२ हजार ५ सय नगद, ६ हजार १७० चिनिया युआन, एकथान तिलहरी, २ थान बच्चाको हातमा लगाउने सुनको बाला, सुनको रिङ २ थान, सुनको औंठी २ थान र हातमा लगाउने सुनको बाला एकथान बरामद गरिएको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
पक्राउ परेकालाई परिसरको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।