काठमाडौं – आर्सनललाई हराउँदै साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा जित निकालेको छ।
आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध ३-० गोलको जित निकालेको हो।
लिभरपुलको जितका लागि डियागो जोटाले दुई गोल गरे भने मोहम्मद सलाहले एक गोल गरे।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि सबै गोल दोस्रोे हाफमा सम्भव भएको थियो।
त्यसअघि भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीविरुद्ध २-० गोलको जित निकालेको छ।
म्यानचेस्टर सिटीको जितका लागि बेन्जामिन मेन्डी र ग्याब्रियल जिससले समान १–१ गोल गरेका थिए।
यो जितसँगै सिटीले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ। उसको ७४ अंक हुँदा दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेडको ५७ अंक छ। त्यस्तै तेस्रो स्थानको लेस्टर सिटीको ५६ अंक छ।
यता लिभरपुल ४९ अंकका साथ छैटौं स्थानमा छ।
शनिबार रातिकै अर्को खेलमा बलियो मानिएको टिम चेल्सीले वेस्ट ब्रुमसँग ५–२ गोलअन्तरको हार बेहोरेको छ।
चेल्सीका डिफेन्डर थियागो डी सिल्वा २९ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाहिर गएपछि दबाब बनाएको वेस्ट ब्रुमले पहिलो हाफको इन्ज्युरी समयपछि पाँच गोल गरेको हो।
त्यसअघि क्रिस्टियन पुलिसकच र मेसन माउन्टले गोल गरेपछि चेल्सीले दुई गोलको अग्रता बनाएको थियो।