काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफू अल्पमतमा पर्ने सक्ने संकेत गरेका छन्। देशका सबै निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूको शुभारम्भ कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन्।
'देशको आवश्यकता र संसद्को अंकगणित फरक पर्छ। संसद यस्तै हो। कहिले केही मानिसले संसदीय अंकगणित उल्टाइदिन सक्छन् (मिलाइदिन्छन्)। संसदीय अंकगणितले अनुपयुक्त आकार नलिन सक्छ,' कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।आवश्यकताअनुसार संसदमा नभए ताजा जनादेशमा जानुपर्ने उनको भनाइ थियो।
'देशको आवश्यकताअनुसारको अंकगणित संसदमा निर्माण गर्नुपर्छ। संसदलाई आवश्यकताअनुसारको बनाउनुपर्छ। संसदको अंकगणित आवश्यकताविपरीत गए ताजा जनादेशमा जानुपर्छ,' उनले थपे।
शुक्रबार मात्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।
उता, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कपिलवस्तुमा सम्बोधन गर्दै छिटै नयाँ सरकार बनाइने उल्लेख गरेका छन्। यद्यपि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।