एजेन्सी- ताइवानको एउटा सुरुङमा रेल दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ। ४ दशकयताकै ठूलो मानिएको दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन्।
सरकारी अधिकारीहरुका अनुसार यो दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा ट्रकसँग रेल ठोक्किएपछि भएको हो।
स्थानीय सञ्चारमाध्यहरुका अनुसार उद्धार कार्य अहिले पनि जारी रहेको छ।
ताइवानको केन्द्रीय आपतकालीन व्यवस्थापन टोलीले सुरुङभित्र भएको दुर्घटनामा रेलका ४ वटा डिब्बा क्षतिग्रस्त भएका छन्। अझै २०० जति यात्रु त्यहाँ फसेको अनुमान गरिएको छ।
ताइवानको राजधानी ताइपेबाट ताइगुङ सहर जाँदै गरेको रेल दुर्घटनामा परेको हो।
यो दुर्घटनमा पर्ने अधिकांश यात्र ताइवानको लोकप्रिय ‘टोम्ब स्वीपिङ’ पर्व मनाउन जान लागेका व्यक्ति हुन्।
स्थानीय समयअनुसार बिहान ९ बजे रेल दुर्घटना भएको हो। दुर्घटनाको समयमा रेलमा झण्डै ५०० यात्री रहेको अनुमान गरिएको छ।
यसअघि सन् १९८१ मा ताइवानमा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो।
२०१८ मा भएको एक रेल दुर्घटनामा त्यहाँ १८ जनाको मृत्यु भएको थियो।