नन्दीग्राम (भारत)- भारतको पश्चिम बंगाल राज्यमा भएको हिंसात्मक झडपमा परी दुई जनाको मृत्यु भएको छ। विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेका बेला भएको झडपमा परी दुई जनाको मृत्यु भएको हो।
बंगाल राज्यमा सत्तारुढ त्रिणमुल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताहरुबीच ठाउँठाउँमा झडप भएका छन्। बंगालको नन्दीग्राम सहरमा दुवै पक्षबीच कडा चुनावी प्रतिस्पर्धा छ। यसका साथै हिंसात्मक घटनाले चुनावी वातावरण पनि तनावग्रस्त बन्न पुगेको छ।
प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी नन्दीग्रामबाट चुनावी प्रतिस्पर्धामा छिन्। गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कङ्ग्रेसका नेता यसपटक बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्ने भएपछि वातावरण तनावग्रस्त बनेको हो।
बिहीबार नन्दीग्रामको मतदान केन्द्र बाहिर भेला भएका ठूलो संख्याका बनर्जीको पार्टी त्रिणमुल कङ्ग्रेस र भाजपाका समर्थक कार्यकर्ताबीच झडप भए। निर्वाचन आयोगले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएपनि दुवै दलले त्यसलाई अवज्ञा गरेका छन्। सुरक्षा व्यवस्था निकै कडा पारिए पनि झडपका घटना नियन्त्रणमा लिन सकिएको छैन।
पश्चिम बंगालमा ८ चरणमा मतदान हुँदैछ। आगामी अप्रिल २९ मा अन्तिम चरणको चुनाव हुनेछ। बिहीबार दोस्रो चरणको चुनावमा नन्दीग्रामसहित ३० वटा निर्वाचन क्षेत्र छन्।
९ करोडभन्दा बढी जनसंख्या रहेको पश्चिम बंगालमा करिब ७ करोड ३० लाख योग्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। मतगणना आगामी मे २ मा हुने कार्यतालिका छ।
भारतमा हाल पश्चिम बंगालसहित असम, केरला, तमिलनाडु र पुडुचरीमा विधान सभाको चुनाव हुँदैछ।
तीन चरणमा निर्वाचन हुने असम चुनावको दोस्रो चरणमा आज मतदान भइरहेको छ। रासस/एएफपी