कैलाली - पश्चिम-पूर्व भएर बग्ने मोहना नदीले कैलालीको दक्षिण क्षेत्रमा बर्सेनि ठूलो धनजनको क्षति गर्छ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको धनगढी उपमहानगरपालिका, दक्षिणपूर्व क्षेत्रमा रहेको कैलारी गाउँपालिका, भजनी नगरपालिकाको दक्षिणतर्फ भएर बग्ने मोहना नदीले उक्त क्षेत्रमा धनजनको क्षति गर्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ।
पहिले धान र गहुँ उत्पादन राम्रो हुने उक्त क्षेत्रको दक्षिणी क्षेत्रमा मोहना र कान्द्रा नदीले कटान र पटान गरेपछि पछिल्लो समय बालीको उत्पादन घटेको छ।
मोहना र कान्द्रा नदीको पटान र कटानले गाउँ विस्थापित भएका छन्। सो क्षेत्रका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत हुन पुगेका छन्।
कैलारी गाउँपालिका-३ मोहनपुरका सेतु चौधरीले गाउँलाई कटान र डुबानबाट बचाउन मोहना नदीमा जैविक तटबन्धन, पटान भएको जमिनमा बगर खेतीका साथै उखुखेती गर्दै आएको बताए।
नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा नदीमा गरिएको जैबिक तटबन्धनले कटान रोक्न धेरै हदसम्म सफल भएको सेतु चौधरीको भनाइ छ।
पहिले नदीले पटान गरेको जमिनमा उखु खेती गर्दै आएको सेतुले बताए। उनले मोहनपुर गाउँका ८८ घरधुरीले मोहना नदीको कटान रोक्न तीन सय मिटर जैविक तटबन्धन गरिरहेको र १० बिघा क्षेत्रफलमा उखुखेती गरिएको बताए।
२०६४ सालमा बाढी धनगढी उपमहानगरपालिका–१८ ललितपुर गाउँमा पसेपछि ठूलो क्षति भयाे। मोहना नदी गाउँमा पसेपछि बालीनाली, चौपाया बगाएर लग्यो। हेर्दाहेर्दै गाउँलेकै आँखा अगाडि खेतीयोग्य जमिन बगरमा परिणत भयो। मानवीय क्षति नभए पनि बाढीका कारण गाउँमा भागाभाग मच्चिएको थियो।
जैविक तटबन्ध गरिएपछि पछिल्ला केही वर्षयता कटान रोकिएको स्थानीय बाँधुराम चौधरीले बताए। बगरमा परिणत भएको जमिनमा किसानले उखु खेती, तरकारी खेती गर्दै मनग्य आमदानी लिन थालेका छन्। गाउँका ३१ घरधुरीमध्ये हाल सो क्षेत्रमा २२ घरधुरीले बगरमा खेती गर्दै आएका छन्।
भजनी नगरपालिका–७ हिम्मतपुरका प्रेमलाल चौधरी मोहना नदीले बगरमा परिणत गरेको जमिनमा उखुखेती थालेका छन्। पहिले राम्रो खेती हुने सो जमिनमा मोहनाले कटानी र पटानी गरेर बगरमा परिणत गरेको बालुमा उनले उखुखेती गरिरहेको बताए। नदीले पटान गरेको बालुमा ३५ घर परिवारले २७ विगाह क्षेत्रफलमा उखुखेती गर्दै आएको प्रेमलालले बताए।
'पहिले राम्रो खेती हुन्थ्याे', प्रेमलालले भने, ‘मोहना नदीले कटान र पटान गरेपछि खेती हुन छाड्याे। नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा अहिले उखुखेती गरिरहेका छौं।’ उनले उत्पादन भएको उखु खरिदका लागि चिनी मिलले सहमति गरिसकेको बताए।
उनले उत्पादन भएको उखुबाट जुस बनाएर बेच्दै आएका छन्। रेडक्रसले उखुको जुस निकालेर बेच्नका लागि उनी लगायत केही किसानलाई जुस निकाल्ने मेसिन दिएको छ।
मर्सिकोर नेपालसँगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कैलालीले सञ्चाल गर्दै आएको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन परियोजनाले सो क्षेत्रका किसालाई सहयोग गर्दै आएको छ।
सन् २०१३ देखि धनगढी उप–महानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र चुरे गाउँपालिकामा सञ्चालन गर्दै आएको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन गरिरहेको नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तर जोशीले बताए।
आर्थिक विकाससँगै विपद् जोखिम न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने उद्देश्यले सो परियोजनामार्फत जैविक तटबन्धनका साथै बगरखेतीमा किसानलाई सहयोग गर्दै आएको जोशीले बताए।
उनले बाढी प्रभावित क्षेत्रका किसानका लागि बगरमा उखुखेती प्रर्द्धन र बजार विस्तारमा सहयोग, फलफूल तथा तरकारी खेती विस्तारमा सहयोग, नमुना प्लट निर्माणमा सहयोग, किसानका लागि कृषक पाठशालाको योजना निर्माण र समस्या बारेमा कक्षा सञ्चालन हुँदै आएकाे छ।
यस्तै किसानका लागि क्षमता अभिवृद्धि तालिम, महिला सहभागिता कोषको स्थापना तथा आयआर्जनका गतिविधि सञ्चालन, जैविक तटबन्ध निर्माणमा सहयोग, आधारभूत प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, समुदायमा आधारित पूर्वसूचना प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दै आएको बताए।