काठमाडौं– नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सत्ता समीकरण बनाउन निरन्तर दौडधुपमा छन्। गएको फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएलगत्तै सुरु भएको दाहालको दौडधुप अहिलेसम्म जारी छ।
तर, दाहालको प्रयासले हालसम्म सफलता प्राप्त गर्न सकेको छैन। फागुन १२ गते तत्कालिन नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय दाहाल र माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेका थिए। त्यसयता दाहालले देउवासँग तेस्रो पटक आज (मंगलबार) भेटवार्ता गरेका छन्।
देउवा निकट स्रोतका अनुसार आज दाहालले देउवासँग करिब आधा घण्टा एक्लै कुराकानी गरे। देउवासँग दाहालले प्रधानमन्त्री ओलीलाई हटाउन नयाँ समीकरण बनाउन प्रस्ताव राखेको बताइएको छ। तर, देउवाले दाहालको प्रस्तावमा सहमति जनाएनन्। स्रोतका अनुसार देउवाले दाहाललाई कसरी अघि बढ्ने भन्नेबारे स्पष्ट खाका लिएर आउन भनेका छन्। ‘माओवादी केन्द्र र जसपाको लाइन स्पष्ट होस्। त्यसपछि मात्रै सहकार्यको कुरा गरौं,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
देउवालाई भेटेलगत्तै दाहाल जसपाका नेता डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका थिए। भट्टराईसँगको भेटमा पनि दाहालले सरकारको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको विषयमा छलफल गरेको भट्टराई निकट स्रोत बताउँछ।
यसअघि पनि दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नयाँ समीरकण बनाउन छलफल अघि बढाइरहेका थिए। उनले कांग्रेस र जसपासँग पटक–पटक छलफल गरिसकेका छन्। तर, प्रतिनिधिसभा पुनर्स्थापनाको डेढ महिना बित्न लाग्दा समेत कुनै उपलब्धि भने हात लाग्न सकेको छैन। दाहाल नेतृत्वको दल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन।
प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक बस्नुअघि दाहालले विपक्षी दलका नेताहरुसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्ने दाहालमाथि सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको आरोपसमेत लागिरहेको छ। उनले केही दिन अघिमात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए।
बृहत् नागरिक आन्दोलनले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भनेका थिए, ‘हत्त न पत्त समर्थन फिर्ता नलिन ममाथि दबाब छ। कसैले नलिई है भनिरहेका छन्। समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ पनि भनिरहेका छन्। अब राजनीतिक र नैतिक रूपमा अब म धेरै दिन कुर्न सक्दिनँ।’
सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आफूमाथि नैतिक र राजनीतिक संकट परेको बताउँदै आएका दाहालले सरकारलाई समर्थन फिर्ता लिने विषयमै विपक्षी दलका नेताहरुसँग छलफल गरेको स्रोतको दाबी छ।
कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बनाउने कसरतमा छन् दाहाल। तर, ओलीसँग मिल्ने कि कांग्रेस र माओवादीसँग भन्ने विवादले जसपा अनिर्णित हुँदा दाहालको कसरत सफल हुन सकेको छैन। अर्कोतर्फ कांग्रेस सभापति देउवाले समेत नयाँ सरकार गठनका लागि चासो देखाएका छैनन्। कांग्रेस नेताहरु ओलीको विकल्प खोज्न तयार रहेको बताउँछन्।
तर, जसपाको निर्णय नआई अपरिपक्व निर्णय लिन नहुनेमा कांग्रेस एकमत छ। जसका कारण दाहालले न सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छन्, न त विपक्षी दलहरुको बीचमा गठबन्धन बनाउने उनको प्रयासले सफलता पाउन सकेको छ।
विपक्षी दलहरुबीच गठबन्धन बनेपछि मात्रै समर्थन फिर्ता लिने दाहालको मनशाय छिपेको छैन। समर्थन फिर्ता लिँदा ओलीले जसपासँग समीकरण बनाएर सरकार टिकाउने सम्भावना उत्तिकै छ। फागुन २३ को सर्वोच्चको फैसलापछि जसपा सत्ता समीकरणका लागि निर्णायक बनेको छ। जसपा ओलीतर्फ लाग्दा उनको सरकार टिक्ने अवस्था छ।
कांग्रेस र माओवादीसँग मिल्दा नयाँ सरकार बन्छ। तर, निर्णायक मानिएको जसपा अनिर्णित बन्दा माओवादीले समर्थन फिर्ता लिन नसकेको माओवादी नेताहरु बताउँछन्। दाहालले बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा भनेका थिए– राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने मैले चाहेको छु।
ओली हटाउन दाहालले गरेको प्रयास किन सफल हुन सकेको छैन त ? माओवादी स्थायी कमिटीका एक सदस्य भन्छन्– जसपाको अनिर्णयले।
‘जसपाले निर्णय लिन सकेको छैन। तर, ओली हटाउने प्रयासले अब सार्थकता पाउने संकेत देखिएको छ,’ ती नेताले भने, ‘ओलीले आफ्नै नेताहरु माथि गरेको अट्याकले उनको आयु घट्ने देखिन्छ। समर्थन फिर्ता लिने र नयाँ समीकरण बनाउने विषयमै आज अध्यक्षले देउवा र भट्टराईसँग छलफल गर्नुभएको हो।’
आज नै माओवादी अध्यक्ष दाहालले नेकपाको वैधानिकता ऋषि कट्टेललाई दिएर एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले हिजो सोमबार पार्टीका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेपछि दाहाल आज अदालत पुगेका छन्। ‘माधव नेपालहरुसँगकै सल्लाहबमोजिम अध्यक्ष अदालत जानुभएको हो। यसको अर्थ पनि सत्तामा ओलीको आयु छोट्टिनु नै हो,’ माओवादीका ती नेताको विश्लेषण छ।
पुनरावलोकनको निवेदन दर्ता गरेपछि दाहालले सर्वोच्चले राजनीतिक फैसला गरेकाले सच्चिने बताएका थिए। दाहालले अब कांग्रेस, जसपा र ओलीले कारबाही गरेका नेताहरुसँगको छलफलमा ओलीको विकल्प खोज्ने प्रयास गर्ने माओवादी नेताहरु बताउँछन्।
माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल केही दिनभित्रै परिणाम देखिने दाबी गर्छन्। ‘राजनीति अहिले घुमाउरो बाटोमा हिँडिरहेको छ। हामी प्रयासरत छौं,’ उनले भने, ‘केही दिनभित्र हामी समर्थन फिर्ता लिन्छौं। त्यसपछि हाम्रो प्रयास सफल हुनेछ।’