एजेन्सी- एसिया र युरोपको मुख्य व्यापारिक नाका स्वेज नहरमा फसेको विशाल मालबाहक पानी जहाजलाई किनारमा सारिएको छ।
गत मंगलबार नहरमा तेस्रो परेर अड्किएको एभर गिभेन जहाजलाई किनारमा लगाएपछि अहिले त्यहाँ जम्मा भएका सयौँ पानी जहाज ओहोरदोहोर गर्न थालेका छन्।
स्वेज नहर प्राधिकरणका अनुसार ४०० मिटर लामो मालबाहक पानी जहाजको दिशा ८० प्रतिशत मिलाइसकिएको छ।
उसकाअनुसार पानी जहाजलाई हटाउने क्रम सकिइसकेको भने छैन।
एभर गिभेनले संसारको सबैभन्दा व्यस्त व्यापारिक मार्गलाई अवरुद्ध गरिदिएको थियो। जसका कारण त्यहाँ ठूलो ट्राफिक जाम भएको थियो भने कतिपय जहाजहरु त्योभन्दा निकै लामो जलमार्ग हुँदै आवतजावत गर्न सुरु गरेका थिए।
यो जलमार्गबाट हरेक दिन झण्डै ९.६ अर्ब डलरको सामान आयात–निर्यात हुने गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जहाज निकाल्नका लागि टगबोट्सको प्रयोग गरिएको छ।
स्वेज नहर प्राधिकरणका अनुसार जहाजको पछाडिको भाग पहिले तटबाट ४ मिटरको दूरीमा थियो भने अहिले जहाजलाई १०२ मिटर टाढा सारिएको छ।
कुनामा भस्सिएको जहाजलाई अब पुरै तैरिने अवस्थामा पुर्याउन लागिएको छ। गत मंगलबार अचानक हावाहुरी चलेपछि जहाज नहरमा फसेको थियो।
जहाजलाई किनारा लगाएपछि त्यहाँ रोकिएका ३६७ वटा पानी जहाज अब गन्तव्यतर्फ जान थालेका छन्।
जहाजलाई किनार लगाउनका लागि त्यसमा रहेको केही सामान निकालेर हलुका पारिएको थियो। झण्डै २० हजार कन्टेनर जहाजबाट झारिएको थियो।
जहाजले एसिया–युरोप छोटो जलमार्ग बन्द गरेपछि विश्वमा कच्चा तेलको भाउ बढेको थियो। जलमार्ग खुलेसँगै कच्चा तेलको मूल्य घटेको रोयटर्सले जनाएको छ।