काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैकिङ कसुरका नयाँ प्रवृत्ति देखापरेको बताएका छन्।
शनिवार राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ विषयक एक दिने अन्तर्क्रिया कार्यक्रममा गभर्नर अधिकारीले प्रविधिको विकाससँगै नेपालको बैकिङ क्षेत्रमा पनि नयाँनयाँ कसुरको प्रवृत्ति देखा परेको बताए।
उनले बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताउदै त्यस्ता चुनौतीको निराकरणका लागि विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा राखे।
‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरु देखिन थालेका छन्। तीनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन। त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ।’ उनले भने।
महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए।
त्यसको निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्ने उनको भनाइ थियो।
महान्यायाधिवक्ता बडालले भने, ‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राखे।
हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सिर्जना गरेको उनको भनाइ थियो। थापाले सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए।