काठमाडौं– गएको फागुन १३ गते अपरान्ह चार बजेतिर मोबाइलमा घण्टी बज्यो। अफिस बिदा लिएर घरै बसेको थिएँ त्यसदिन। अल्छी मान्दै फोन उठाएर हेरें– कांग्रेस नेता नवीन्द्रराज जोशीले गरेका रहेछन्।
दाइ, जय नेपाल ! फोन उठाएर भनें। जय नेपाल तीर्थजी ! कता हराउनुभयो, के छ खबर ? उही मिजासिलो र सरल शब्दमा नवीन्द्र दाइले भने। मैले भनें– ठिकै छ दाजु। हजुरको के छ ?
उनले भने– मेरो ठिकै छ। अब मुलुकमा के हुन्छ ? के बुझ्नुभएको छ ?
नवीन्द्र दाइको स्वाभाव नै यस्तै थियो। पत्रकारहरुसँग राजनीतिक परिस्थितिका बारेमा सोधिरहने। जनताको मनोविज्ञान बुझ्न खोज्ने। अझ त्यो बेला त सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो। प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नयाँ सत्ता समीकरण र सम्भावित राजनीतिक परिदृश्यको बहसले राजनीति गर्माएको थियो।
फागुन १३ गते नै कांग्रेसले पदाधिकारी बैठक डाकेको थियो। छलफलको विषय थियो– नयाँ सत्ता समीकरण। १२ गते तत्कालिन नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता समीकरणको प्रस्ताव राखेका थिए। त्यही विषयमा छलफल गर्न पदाधिकारी डाकिएको थियो।
कांग्रेस केन्द्रीय सदस्य भएपछि पार्टीभित्रको बहसको मेसो नवीन्द्र दाइले थाहा नपाउने कुरै थिएन। तर पनि उनले जिज्ञासा राखे– बैठकले के गर्ला ?
मैले भनें– ठोस निर्णय त केही नआउला। तर पनि त्यो थाहा पाउन बैठक सकिनुपरो नि दाइ।
नवीन्द्र दाइ हाँसे र भने– दाजुभाइ भेट्नुपर्यो। छलफल गर्नु छ।
मैले भनें– १–२ दिनमै भेट्नुपर्छ दाइ। म फोन गरेर भेट्न आउँछु नि ! हस तीर्थजी भनेर उनले फोन राखे।
त्यही राति उनलाई मस्तिष्कघात भयो। १४ फागुनमा नर्भिक अस्पताल भर्ना भएका नवीन्द्र दाइको त्यसपछि बोली सुन्न पाइएन। एक महिनापछि उनी आज सधैंका लागि बिदा भएका छन्।
उनले नर्भिक अस्पतालको शैययाबाट अन्तिम स्वास फेरिसकेका छन्। शुक्रबार राति ८ः३० बजे उनको प्राण पखेरू उडिसकेको छ।
पर–पर क्षितिजबाट नवीन्द्र दाइले हात हल्लाएर विदा मागिसकेका छन् अस्पतालको गेटमा छोराको फर्कने आशमा पर्खिरहेकी आमालाई माया मारेर। बाबा नलिई घर नफर्कने अड्डी कसेकी छोरीलाई निराश बनाएर ब्रम्हनालमा लिन भइसकेका छन् नवीन्द्र दाइ।
नवीन्द्र दाइले आफ्नो जीवनको ठूलो इच्छा पूरा गर्न पाएनन्। उनी जनताको सेवालाई धर्म ठान्थे। त्यो पनि बचनमा मात्र होइन, कर्म नै गरेर। र त भेट हुँदैपिच्छे उनी भन्थे– जनतालाई समस्या परेका बेला साथन दिने नेता के नेता ?
अब उनले जनताको सेवा गर्न पाउने छैनन्। न त समस्या परेकाहरुले नवीन्द्र दाइलाई सम्झन नै पाउनेछन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ मा चलिरहेको उनको घरदैलो अभियानमा ब्रेक लागेको छ। अब मास्क, स्यानिटाइजर बाँड्न जनताको घरमा उनी पुग्ने भएनन्। न त स्वास्थ्य सचेतना फैलाउने पोस्टर बोकेर जनताको घरदैलोमा पुग्न पाउने भए।
कोही बिरामी भए एम्बुलेन्सको व्यवस्थाग रिदिने नवीन्द्र दाइ रहेनन्। नवीन्द्र भन्थे– लोकतन्त्रमा नागरिक कहिल्यै निरीह हुन सक्दैन। नागरिकलाई समस्या परेका बेला दल उभिनुपर्छ। राजनीति गर्नेले चुनावका बेलामात्रै होइन, जनतालाई समस्या परेका बेलामा उनीहरुको दैलोमै पुग्नुपर्छ।
उनी बोल्दैनमात्रै थिए, बोलेको पूरा पनि गर्थे। उनी कहिले घरदैलो गर्थे, जनताको समस्या बुझ्थे त कहिले चुनाव प्रचारका लागि राखिएका पोस्टर आफैँ हटाउन पुग्थे।
उनको अर्को इच्छा थियो– कांग्रेस शक्तिशाली भएर देशको कायापलट भएको देख्ने। त्यो अभियानमा अग्रपंक्तिमा खटिने इच्छा उनको थियो। पछिल्लो समय उनले पार्टीमा युवा सहभागिता बढाउन अभियान नै चलाएका थिए।
अनौपचारिक कुराकानीक्रममा उनले आशन्न १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने इच्छा व्यक्त गरेका थिए। कमजोर बनेको पार्टी जीवनलाई पुनर्जागृत गर्ने उनको इच्छा थियो। तर, उनका यी सबै इच्छामा नियतिले पूर्णविराम लगाइदिएको छ।
उद्योगमन्त्री हुँदा उनले गरेका कामको प्रसंशा नगर्ने सायदै कोही होलान्। अवसर पाउँदा आफूलाई प्रमाणित गर्ने इच्छाशक्ति थियो उनमा। धेरै जीर्ण उद्योगलाई जीवन दिने प्रयास उनले गरेका थिए। उनी भन्थे– मैले आफैंलाई प्रमाणित गर्न र देश विकासमा काम गर्न अझै बाँकी छ।
अन्य नेताहरुभन्दा उनी यस अर्थमा पनि फरक थिए। उनको राजनीतिक जीवनमा विवादको छायासमेत पर्न पाएन। उनमा दम्भ, घमण्ड देखिएन। स्वच्छ छवि, सादा जीवन र शालीन व्यक्तित्वको रुपमा ५७ वर्षको उमेरमा नवीन्द्र दाइले संसार छोडेका छन्। अदविदा, नवीन्द्र दाइ !