पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध लेखनमा सक्रिय प्रभा बराल प्राध्यापनमा संलग्न छिन्। ५० को दशकदेखि नेपाली साहित्य सिर्जनामा लागेकी बरालको आत्महत्याको जङ्गल (नियात्रा), शब्दहरू अविराम यात्रामा (संयुक्त कविता संग्रह), तृष्णाको पहाड (गजल संग्रह), असिनाको कथा (बालकविता संग्रह) प्रकाशित छन्। आधा दर्जनजति कृति सम्पादन गरिसकेकी बरालको फिलिङ्गो पहिलो उपन्यास हो। अक्षर क्रियसनले प्रकाशन गरेको प्रस्तुत उपन्यासमा आधारित रहेर बरालसँग गरिएको कुराकानी :
‘फिलिङ्गो’ उपन्यासको विषयवस्तु र परिवेश के कस्ता छन्?
फिलिङ्गो महिलाको आत्मसम्मान र आत्मनिर्णयको विषयमा आधारित उपन्यास हो। वैवाहिक सूत्रमा आबद्ध भएपछि पुरुषले समझदारी र समानताका नैतिक पर्खाल किन निर्धक्कसँग नाघ्छ? उसलाई यो छुट कसले दियो? त्यही पर्खाल महिलाले नाघ्दा ऊमाथि किन बाइफाले र अझै निकृष्ट शब्दको ट्याग भिराइन्छ?
महिलाले सधैं अन्याय, अत्याचार, विभेद, दमन र हिंसा सहिरहनुपर्ने हो? सदीयौंदेखिको विभेदलाई महिलाले प्रश्न गर्न पाउने कि नपाउने? यिनै गम्भीर र सामयिक प्रश्नहरूको उत्तर फिलिङ्गोमा खोजिएको छ। उपन्यसको परिवेश भने जापान र नेपाल रहेको छ। दुवै देशका विभिन्न सांस्कृति सन्दर्भ पनि उपन्यासमा पाउन सकिन्छ।
उपन्यास लेख्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो?
नेपाली र थोरबहुत विश्व साहित्यका विभिन्न कृतिहरूको अध्ययन गर्दा उपन्यास विधा अत्यन्त लोकप्रिय रहेको महसुस भयो। यस विधाकोे विकास निकै पछाडि भए पनि पाठक अत्यधिक छन्। धेरैभन्दा धेरै पाठकको माझमा आफ्नो भावना पुर्याउनु छ भने किन उपन्यास नै नलेख्ने भन्ने चेत आयो र उपन्यास लेखनमा लागेकी हुँ। अर्को कुरा समाजप्रतिको मेरो दृष्टिकोण यसअघि कविता र नियात्राबाट पाठकसामु प्रस्तुत भइसकेको छ। पछिल्लोपटक उपन्यासका पात्रमार्फत आफ्ना अभिव्यक्ति प्रकट गर्न केही सहज हुने ठानें। त्यसैले उपन्यास रोजेकी हुँ।
उपन्यासमा सत्ता र शक्ति संघर्षको आख्यान पनि पढ्न पाइन्छ कि?
यो उपन्यासले केही मात्रामा सत्ता र शक्ति संघर्षको कुरालाई प्रतिनिधित्व गरेको छ। त्यो बढी पितृसत्तासँग नारीले गर्नुपरेको संघर्षमा आधारित छ। महिलाले आफ्नै कमाइमा पनि किन स्वामित्व कायम गर्न सकेका छैनन्? उनीहरू के कुराले गर्दा आफ्नो कमाइको मालिक आफैं हुन सकिरहेका छैनन्? विदेशमा काम गरेका महिलाको आर्थिक उपार्जनप्रति उनीहरूको परिवारले गर्ने हस्तक्षेप कत्तिको जायज छ? पुँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा महिलाले गर्नुपरेको संघर्ष कस्तो छ?
अस्तित्वपूर्ण जीवन बाँच्नका लागि एउटी महिला सक्षम हुँदाहुँदै पितृसत्तामा कसरी थिचिन्छे र असक्षम बनाइन्छे। नारी र पुरुष एक रथका दुई पांग्रा हुन् भन्ने समाजमा महिलाले आत्मसम्मानपूर्ण जीवन जिउन पाउने कि नपाउने? सन्तान, परिवार, समाज, धर्म, संस्कृतिलगायत अनेक नाममा महिलामाथि गरिने विभेदका यी शृंखला कहिलेसम्म सहने? यिनै मुद्दाका बारेमा प्रश्नरूपी फिलिङ्गोको झिल्को बाल्ने काम यो उपन्यासले गरेको छ।
उपन्यासलाई लोकजीवन, लोककला र लोकविश्वासका सन्दर्भले कत्तिको जीवन्त बनाउँछन् जस्तो लाग्छ?
आख्यान कुनै न कुनै रूपमा लोकजीवनका अनेक आयामसँग जोडिएको हुन्छ। साहित्यलाई समाजको दर्पण त्यसै भनिएको होइन। फिलिङ्गो उपन्यासमा पनि यसको केन्द्रीय पात्र सीमान्तीले लोकजीवनका अनेक पात्रसँग संघर्ष गरेकी छ। उसको स्वाभिमानमा धक्का दिने पुरुषप्रति ऊ निर्भीक बनेकी छ।
लोकजीवनमा चलेका लोकविश्वासले उसको आत्मनिर्णयमा खलल नपुर्याऊन् भनेर ऊ त्यस्ता प्रवृत्तिसँग निस्पृह रहेकी छ। आर्थिक स्वावलम्बनका लागि आफ्नो कमाइको मालिक आफैं हुनुपर्छ भन्ने चेतनाबोध भएपछि पतिलाई खुसी पार्छु भनेर उसले आफ्नो कमाइ सुम्पन छाडेकी छ।
आर्थिक रूपमा सबल भए पनि महिलाले आर्थिक स्वतन्त्रता प्राप्त नगरेसम्म जीवनमा हुन सक्ने अकल्पनीय भवितव्यलाई सामना गर्न सकिँदैन भन्ने तथ्यलाई उसले बोध गरेकी छ।
सूचनाको पहुँचबाट महिला पछि पर्दा धेरै कुरा गुम्दो रहेछ। पहिचानपूर्ण जीवन बाँच्न आत्मविश्वासको दह्रो अठोट लिएर हरेक कुरामा लाग्नुपर्ने रहेछ भन्ने चेतना निर्माणले यस उपन्यासकी नायिका परिचालित भएकी छ।
कुरीति, असमानता र धर्मका नाममा महिलामाथि थोपरिने विभेदजन्य कुसंस्कारका लोकविश्वासले लेखनलाई जीवन्त होइन बरु फिक्का बनाउँछन् भन्ने कुरा फिलिङ्गो उपन्यासले बोलेको छ। उपन्यासमा नेपाली संस्कृतिका विभिन्न सन्दर्भलाई प्रसंगवश समेटिएको छ।
कतिपय उपन्यास केही समय चर्चामा रहेर हराउँछन्। ‘फिलिङ्गो’ पाठकको रुचिमा पर्ने आधार के हुन्?
हो, पछिल्ला वर्षमा पुस्तक प्रकाशनको बाढी आएको छ। संख्यात्मक रूपमा बढी र गुणात्मक रूपमा कम पुस्तक प्रकाशन भए भनेर सचेत पाठक अन्यायमा परेको गुनासो व्यापक सुनिन थालेको छ। पाठकको समय र पैसा दुवै नष्ट भए भन्ने खालका आरोप मैले पनि सुन्दै आएकी छु।
साहित्यको पाठकको हिसाबले पनि म यी कुरासँग बेखबर छैन। फिलिङ्गो उपन्यास पनि क्षणिक चर्चा र कफी गफको विषय मात्र नबनोस् र पाठकको मनमा स्थान ओगट्ने कृति बनोस् भनेर मैले सक्दो प्रयास गरेकी छु। यस कृतिभित्र आएका सन्दर्भ स्वैरकल्पना र अतिशयोक्ति वर्णनमा आधारित छैनन्। कल्पनाको लेपनले चम्काइएको पनि छैन।
म आफैं दुई वर्ष जापानमा बसेर स्थलगत अध्ययन गरी सत्यताको पृष्ठभूमिमा रहेर उपन्यास तयार गरेकी हुँ। पक्कै पनि यहाँभित्रका सन्दर्भ र विषय आमपाठकका लागि रोचक हुनेछन्। पाठकले केही पृथक स्वाद पाउनेछन् भन्ने म आशावादी छु।
‘फिलिङ्गो’ उपन्यासका पाठक कुन उमेर समूहका हुन् जस्तो लाग्छ?
यो उपन्यास विशेषतः यही उमेर र लक्षित वर्गका लागि भनेर ठोकुवा गर्नुपर्छ भन्ने मलाई लाग्दैन। पुस्तक ज्ञान प्राप्त गर्नका लागि पढ्ने हो। ज्ञान प्राप्त गर्नलाई कुनै विशेष उमेर समूह हुन्छ भन्ने छैन।
तैपनि आत्मसम्मानमा बाँच्न चाहने हरेक महिला, श्रमका लागि विदेशिने युवा वर्ग, आप्रवासी नेपाली, रोजगारीका लागि गन्तव्य बनाउन भाषाको अध्ययन गर्न जाने विद्यार्थी अनि समग्र सचेत र प्रबुद्ध वर्गले यो उपन्यास पढेर आख्यानको नयाँ स्वाद चाख्न पाउँछन् भन्ने मलाई लाग्छ।
यो उपन्यास नपढ्दा पाठकले के कुरा गुमाउँछन्?
साहित्य पठन सोखको विषय पनि हो। यो व्यक्तिविशेषमा भर पर्ने कुरा हो। यही पुस्तक पढ्नुपर्छ भनेर कसैलाई करकाप गर्न खोज्नु र सिफारिस गर्नु युक्तिसंगत होइन। लेखकका नाताले आफ्ना कृति धेरैभन्दा धेरै पाठकले पढिदिऊन् भन्ने लाग्नु स्वाभाविकै हो। मुख्य कुरा त पाठकको रुचिको विषय हो।
जो व्यक्ति साहित्य पढेर आनन्दित हुन्छ। साहित्यबाट प्राप्त हुने रसबाट तृप्ति लिन चाहन्छ, उसलाई यो पढ, त्यो पढ भन्नै पर्दैन। उसले पुस्तक खोजीखोजी पढ्छ। मेरो यो पुस्तक पनि पठनीय छ भन्ने लागेर नै मैले प्रकाशन गरेकी हुँ। उसै पनि विकास र प्रविधिका अतिउच्च संरचना निर्माण गरेर विश्वमै तरंग फैलाउने जापानको परिवेश हाम्रा लागि नवीन हुन सक्छ।
त्याे भूमिमा एउटी नेपाली युवतीले आफ्नो अस्तित्वका लागि गरेको संघर्ष झन् तारिफयोग्य छ। यी कुरा पढ्दा पाठकको समय र पैसाको सदुपयोग हुन्छ भन्ने कुरामा म विश्वस्त छु। पाठकबाट प्राप्त हुने प्रतिक्रिया र सुझावका लागि म अत्यन्त व्यग्र छु।