काठमाडौं, १५ जेठ । ०४६ सालमा जनआन्दोलनको उभार आयो । त्यतिखेर राजसंस्था फाल्न सकिँदैनथ्यो । राजतन्त्रलाई 'नोमिनल मोनार्की'का रूपमा राख्ने सहमति जुट्यो ।
हामी सकेसम्म राजसंस्थालाई कुनै अधिकार दिने पक्षमा थिएनौं । संविधान निर्माण क्रममा हामीले निकै लडाईं लड्यौं । संविधान सुझाव आयोगको सदस्यको हैसियतले त्यसको अगुवाई मैले नै गरेको थिएँ । मैले जापान र स्पेनको राजसंस्थाको मोडेल अगाडि सारेको थिएँ । केही युरोपेली राजसंस्थाको पनि मोडेल सुझाएको थिएँ ।
ती मोडेल अगाडिल सार्दा तत्कालीन राजा वीरेन्द्र मेरो अधिकार खुम्च्याएर समाप्त पार्न खोजेको बताउँदै निकै रिसाएको सुनेको थिएँ । संविधान सुझाव आयोग बनेको थियो । म, निर्मल लामा र भरतमोहन अधिकारी वामपन्थीहरूको तर्फबाट त्यसमा सदस्य थियौं ।
कांग्रेसको चाहना ०१५ सालको संविधान
हामी जनतालाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउने पक्षमा थियौं । राजाको हातमा कुनै पनि निरंकुश अधिकार नदिने पक्षमा थियौं । त्यसका लागि धेरै लड्यौं । तर पनि, तीन शक्तिबीचको सम्झौताअनुसार काम गर्नुपर्ने थियो ।
आयोगमा कांग्रेस र राजाका प्रतिनिधिहरू पनि थिए । र, कांग्रेसका प्रतिनिधिहरू ०१५ सालको संविधानको सेरोफेरोभन्दा माथि उठ्न सकेका थिएनन् । उनीहरू संविधानमा बलियो राजाको पक्षमा तयारी गरेर आउँथे ।
गिरिजाप्रसाद कोइरालाको मनमा अन्तिमसम्म ‘बेबी किङ’ थियो ।
त्यसलाई हामीले कुनै हालतमा स्वीकार्न सकेनौं । त्यसमा राजाका भन्दा कांग्रेसका प्रतिनिधिसँग बढी लड्नु पर्यो । आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायले एक विन्दुमा गएर सहमत गराउनु भयो । त्यसलाई हामीले सम्झौताको दस्तावेजका रूपमा लियौं ।
गणतन्त्रको जग होइन ०४७ को संविधान
२०४७ सालको संविधानलाई गणतन्त्रको जग मान्न सकिँदैन । तर, जनताको अधिकार प्राप्त गर्ने र जनतामा सार्वभौमसत्ता प्राप्त गर्ने दस्तावेजका रूपमा लिन सकिन्छ ।
त्यो संविधानमा हामीले केही फरक मत राख्यौं । पहिला ६ बुँदे फरक मत दर्ज गर्यौं । र, मदन भण्डारीले २७ बुँदे फरक मत सार्वजनिक गर्नुभयो । त्यसपछि राजालाई मान्ने र राजतन्त्रलाई स्वीकार्ने पक्षमा पुग्यौं । राजासँग सहकार्य गर्दै जाने तर जनताका अधिकारमा कुनै सम्झौता नगर्ने निष्कर्षमा हामी पुग्यौं ।
बन्दुकबाट शान्तिपूर्ण रूपान्तरण
२०४७ सालको संविधानपछि बन्दुकको बलबाट शासनसत्ता कब्जा गर्ने कम्युनिस्ट मान्यतालाई बदल्ने निष्कर्ष निकाल्यौं । र, चुनावमा बहुमत प्राप्त गरेर सरकार बनाउने निष्कर्षमा पुग्यौं ।
राम्रो काम गरेर र जनताको विचार जितेर लोकप्रिय कार्यक्रम ल्याउने मान्यतामा हामी पुग्यौं । त्यसैलाई 'जनताको बहुदलीय जनवाद'का रूपमा मदन भण्डारीले व्यवस्थापन गर्नुभयो । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन अन्तराष्ट्रिय परिवेशमा देखिएका कमजोरीलाई पाठका रूपमा लिने मान्यतामा हामी पुग्यौं ।
पहिलो चरणमा सामन्तवादको उन्मुलन र दोस्रो चरणमा त्यसका अवशेषलाई निर्मुल पार्ने मान्यता अगाडि सार्यौं । समयको परिपक्वताबिना केही पनि परिवर्तन गर्न सकिँदैन भन्ने मान्यतामा हामीले राजसंस्था स्वीकारेका हौं ।
मानिसको मनोबल र चाहनाले मात्र केही हुँदैन । वस्तुगत परिस्थिति तयार हुनुपर्छ । वस्तुगत परिस्थिति परिपक्व हुनु भनेको राजतन्त्र र जनताबीच अन्तरविरोध बढ्नु हो । राजतन्त्रको अनुचित कामले जनताको मनमा घृणा पैदा हुनुपथ्र्यो । जनताको मनमा जबसम्म परिवर्तनको चाहना तीव्र हुँदैन, तबसम्म कम्युनिस्ट पार्टीका केही नेताले चाहँदैमा केही हुन सक्दैन ।
राजा वीरेन्द्रको 'तिमी'
२०४६ सालपछि राजा वीरेन्द्रले समय र परिस्थिति हेरेर चल्न खोजेका थिए । तर, नानीदेखि लागेको बानी फेर्न कठिन हुन्छ ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला एक पटक दरबारमा भेट्न बोलाइएको थियो । म पनि सँगै थिएँ । राजाले कुरा गर्दागर्दै मनमोहनलाई 'तिमी' शब्द प्रयोग गरे । 'तिमी' शब्द सुन्दा-सुन्दा बानी परेकाले मनमोहनलाई अनौठो लागेन । मलाई भने चित्त बुझेन ।
मैले त कहिल्यै पनि अरूबाट 'तिमी' सुनेको थिइनँ । म विद्रोही स्वभावको भएकाले त्यो पच्ने कुरा नै थिएन । म सबै कुरा सहन सक्छु तर अपमान सहन सक्दिनँ । राजाको त्यो शब्द मन नपरेपछि मैले मुन्टो फर्काइदिएँ ।
राजाले कुरा गर्दै थिए तर मैले कुरा सुन्न चाहिनँ । राजाले कुरा बुझे, त्यसपछि कुरा फेरेर 'तपाईं' भन्न थाले । बढ्ता रिस उठ्यो भने म जुरुक्क उठेर हिँडिदिन्छु, राजा-महाराजा जो भए पनि कसैलाई टेर्दिनँ । त्यो मेरो स्वभाव हो ।
तर, उठिहाल्नुभन्दा अगाडि धेरै कुरा सोच्छु पनि । मेरो मान्यता छ, नबिराउनु नडराउनु । त्यसबाहेक वीरेन्द्रको बेलामा अरू केही भएन । मैले पनि उहाँलाई श्रद्धा नै गर्थें । आफूले अरूलाई र अरूले पनि आफूलाई सम्मान गरून् भन्ने मेरो मान्यता हो ।
यस कारण बसिनँ छानविन आयोगमा
१९ जेठ ०५८ मा दरबार हत्याकाण्ड भयो । ज्ञानेन्द्रभन्दा राजा वीरेन्द्र लोकप्रिय थिए । वीरेन्द्रको वंशनासपछि ज्ञानेन्द्र राजा बन्ने स्थिति बन्यो । राजा कसलाई बनाउने भन्नेबारेमा वीरेन्द्र सैनिक अस्पतालमा हाम्रो बैठक बस्यो ।
राजाको ८ वैशाखको वक्तव्यलाई स्वीकार गरौं भनेर देउवाले फोन गरे । मैले आँट नभएको हिम्मतहारा भनेर झपारें ।
बैठकमा राजा नभइसकेका ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रियसभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजसभा स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी, राजाका प्रमुख स्वकीय सचिव पशुपतिभक्त महर्जन र प्रधानन्यायाधीश केदारनाथ उपाध्याय हुनुहुन्थ्यो ।
म त्यसमा विपक्षी दलको नेताको हैसियतमा सहभागी थिएँ । बाहिर सडकमा तनाव छ, कसरी जाने भनेर छलफल भयो । वीरेन्द्रको वंशको विनास कसरी भयो भनेर छलफल भयो । त्यसबेला अधिराजकुमारको हैसियतमा रहेका ज्ञानेन्द्रले 'वास्तविकता टेलिभिजनमार्फत् भन्छु, त्यो घटना यसरी भएको हो भनेर' प्रस्ताव राखे ।
अनि मैले नै अगाडि सरेर भनें, 'त्यो कुरा सरकारले भने पनि बाहिर कोही पत्याउनेवाला छैनन् । त्यसरी भन्दा स्थिति झन् बिग्रन्छ ।' मैले आयोग बनाएर छानविन गर्न प्रस्ताव राखेँ ।
त्यसपछि कसलाई आयोगमा सदस्य बनाउने भनेर पनि नामका बारेमा छलफल भयो । मैले नै भनें, 'प्रधानन्यायाधीशको अध्यक्षतामा बनाऊँ ।'
प्रधानन्यायाधीश त्यो आयोगमा बस्न तयार हुनुभएन । अनि, मैले सभामुखलाई राखिदिऊँ भनें । त्यसपछि मलाई तपाईं पनि बस्नुपर्छ भन्न थाले । मैले त्यो बैठकमा धेरै प्रतिवाद गरिनँ । मलाई लाग्यो, क्याबिनेटले यसबारेमा निर्णय गर्छ होला । त्यसपछि गिरिजाबाबुसँग सल्लाह गरेर अगाडि बढौंला भन्ने मलाई लाग्यो ।
म बसें भने गिरिजाबाबु पनि बस्नुपर्छ भन्ने अडानमा थिएँ । बैठकमा कुनै निर्णय नभई हामी हिँड्यौं । निस्कँदा निस्कँदै भर्याङमा पशुपतिभक्त महर्जनसँग भेट भयो । मैले भने, 'यदि हाम्रो पार्टीको तर्फबाट आयोगमा कोही राख्नुपर्ने भयो भने भरतमोहनलाई राख्नूस् ।'
साँझ आर्यघाट पुगेपछि फोन आयो, 'तपाईंको नाम त राख्ने भइयो ।' मैले 'मेरो नाम नराख्नूस्' भनें । बीचमा फोन कट्यो । अनि मेरो नाम फ्याट्ट बाहिर आयो । त्यसबेला कफ्र्यु लागेको थियो । म घर जान गाडीको पर्खाइमा थिएँ । घर पुगेर 'कलब्याक' गर्दा फोन लागेन । भोलिपल्ट हाम्रो पार्टीको बैठक बस्यो । बैठकले आयोगमा नबस्ने निर्णय गर्यो । हामीले बैठकको निर्णयअनुसारको पत्र पठाइदियौं ।
पूर्वप्रधानमन्त्री नेपालसँग गरिएको कुराकानी हेर्नुहोेेस्
ज्ञानेन्द्रलाई भनें 'म कसैको निगाहबाट आएको होइन'
आयोगबाट मेरो नाम हटाएपछि ज्ञानेन्द्रले मप्रति अलि असन्तुष्टि जनाएजस्तो लाग्यो । उनी राजा भइसकेपछि एक पटक मेरो कुराकानी भयो । त्यसबेला राजनीतिक पार्टीका नेताहरूलाई होच्याएर कुरा गरे । मलाई साह्रै खपिनसक्नु भयो । उनीसँग छोरा पारस पनि थिए । मैले पनि एकहोरो तरिकाले बोलें ।
शायद २० मिनट बोलें होला । मैले भनें, 'म माधव नेपाल कसैको निगाहबाट यो ठाउँमा आएको होइन । मेरो परिवार हात पसारेर माग्दै हिँड्ने परिवार पनि होइन । जिल्लाको अत्यन्त सम्मानित परिवार हो मेरो । मेरो बुवा विद्वान मान्छे हो, स्कुलको हेड मास्टर, कलेजको प्रिन्सिपल । म उहाँको संस्कारमा हुर्केको मान्छे हुँ, अपमान सहने मान्छे होइन ।'
यति भन्दै म जुरुक्क उठेर हिँडें । त्यसपछि दरबार जाँदै जान्नँ भन्ने थियो । त्यसरी हिँडेपछि माधव नेपाल साह्रै रिसायो भन्ने ज्ञानेन्द्रलाई परेछ । त्यसपछि उनले पशुपतिभक्त महर्जनलाई मेरोमा पठाउँदै त्यसरी रिसाउनु भएन भन्ने सन्देश पठाए । र, एकचोटी भेटौं भन्ने खबर पठाए ।
त्यसपछि म भेट्न दरबार गएँ । उनले 'माधवजी' भनेर सम्बोधन गरे । ज्ञानेन्द्रको एउटा राम्रो बानी थियो, नामको पछाडि 'जी' लाउने । हाम्रो पनि 'जी' लगाइदिएपछि फुरुंग पर्ने बानी ।
राजा वीरेन्द्रले मनमोहन अधिकारीलाई तिमी भनेपछि मैले मुन्टो बटारें
म जापान जाँदा त्यहाँका सम्राटसँग भेट भयो । भेटमा बराबरी तहको कुर्सीमा बसेर कुराकानी भयो । म उपप्रधानमन्त्री तर जापानको राजाले त्यति नजिक भएर कुराकानी गरेपछि धेरै सकारात्मक भएँ । मैले यो कुरा फर्केर राजा वीरेन्द्रलाई सुनाएँ । त्यसको संकेत तिमी पनि त्यसै गर भन्ने थियो ।
हामीकहाँ भने राजा ठूलो सोफमा बस्ने र हामीलाई सामान्य कुर्सीमा बसाउने । आज्ञाकारी विद्यार्थीजस्तो । वीरेन्द्रले यो कुरा वास्ता गरेनन् । पछि यो कुरा ज्ञानेन्द्रलाई सुनाएँ । उनी त चलाख मान्छे, बराबरीको कुर्सीमा राखेर कुराकानी गर्न थाले ।
ज्ञानेन्द्रका पनि केही राम्रा कुरा नभएका होइनन् । म उनलाई खराब मान्छे मान्दिनँ । तर, आफ्नो ठाउँमा लडाईं त चलिहाल्छ ।
वीरेन्द्र विनम्र, ज्ञानेन्द्र अहंकारी
वीरेन्द्र अलि विनम्र थिए भने ज्ञानेन्द्र बढी अहंकारी । ज्ञानेन्द्रसँगको भेट र कुराकानीपछि अब सहज ढंगले अगाडि बढ्न सकिँदैन भन्ने लागेको थियो । पछि गएर ज्ञानेन्द्रले नेताहरूलाई प्रजाको तहमा राख्ने मान्यता देखाउन थाले ।
आफूले मात्र के के गर्न सक्छु भन्ने सोच र सत्ताले मान्छेलाई भ्रष्ट बनाएजस्तै परिस्थिति उनको हकमा पनि तयार भयो । उनी बढी नै महत्वाकांक्षी भए । पार्टीका नेता भ्रष्ट भए बदलिन्छ, पार्टी बदलिन्छ तर राजाले नै त्यो गर्न थाल्यो भने राजा मात्र बदलिँदैन, राजतन्त्र नै समाप्त हुन्छ । त्यो कुरालाई उनले बुझ्न सकेनन् । त्यसबेला राजालाई सुधार्न हामीले मौका दिन खोज्यौं ।
भिडियो हेर्नुहोस्
शेरबहादुर हटाउँदा गिरिजाबाबु खुशी
जुन दिन ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरे, त्यही दिन मैले बल्खुमा दलहरूको बैठक बोलाएँ । त्यस बैठकमा गिरिजाबाबु आउनु भएन, सूर्यबहादुर थापा आउनुभयो । गिरिजाबाबु आउनुभयो भने एउटा वक्तव्य जारी गर्ने र आन्दोलनका लागि सडकमा ओर्लिने सोचिरहेको थिएँ ।
तर उहाँ नआउनु भएपछि मनमा चिसो पस्यो । शेरबहादुर हटेकामा गिरिजाबाबुलाई नराम्रो लागेको रहेनछ । हामीले व्यक्तिको प्रश्न नभई गलत प्रवृत्ति हावी भएको बतायौं ।
त्यसपछि २१ असोज ०५९ मा फेरि दलहरूको बैठक बस्यो । पाँच पार्टीका नेता भेला भयौं । अब सार्वभौमसत्ता कसको हातमा भन्ने प्रश्न आयो । र, निष्कर्षमा निकाल्यौं, 'संसद भंग भइसकेकाले त्यो अधिकार राजनीतिक पार्टीले प्रयोग गर्ने । राजनीतिक पार्टीले जसको नाम सिफारिस गर्छन्, उसैलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ ।'
त्यो कुरालाई राजा ज्ञानेन्द्रले पचाएनन् । उनले आफैं अधिकार प्रयोग गर्न खोजे । त्यो एउटा लडाईंको विषय बन्यो । अबको प्रधानमन्त्री कसलाई प्रस्तावित गर्ने भनेर दलहरूबीच छलफल हुँदा गिरिजाबाबुले मेरो नाम प्रस्ताव गर्नुभयो । सबै पार्टीले स्वीकार गरे । र, राजा ज्ञानेन्द्रलाई नाम पठाउनु परेमा माधव नेपालको नाम पठाउने निर्णय भयो ।
तर, त्यो कुरा राजाले मन पराएनन् । त्यसपछि कहिले लोकेन्द्रबहादुर चन्दलाई कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए ।
१९ माघपछि गणतन्त्रको बहस
१९ माघ ०६१ मा राजाले देउवालाई फेरि हटाए । त्यसअघिसम्म हामीले राजालाई सचेत गरायौं, सच्चिन मौका दियौं । अनेक कोशिस गर्दागर्दै पनि हाम्रो कुरा सुनिएन । त्यस घटनापछि ०६२ सालमा हामी गणतन्त्रमा जाने विषयमा बहस शुरू भयो । यो बहस एमालेभित्रबाट भयो ।
१९ माघको घटनापछि अब गणतन्त्रको विकल्प छैन भन्नेमा पुग्न थाल्यौं । असार ०६२ मा एमाले केन्द्रीय समितिले निष्कर्ष निकाल्यो, 'अब गणतन्त्रमा जानुपर्छ ।' एमालेभित्र विवाद भयो । केही नेताहरू मान्नुभएको थिएन । अधिकांश केन्द्रीय सदस्य गणतन्त्रको पक्षमा उभिनुभएको थियो । गणतन्त्रको दिशातर्फ अगाडि बढ्न वातावरण तयार गर्ने निर्णय भयो ।
१० वैशाख ०६३ मा गिरिजाप्रसाद कोइरालाको निवासमा बसेर राजाले गर्ने भाषणको मस्यौदा गरियो, त्यसमा राजाले दुई शब्द ‘प्यारा देशवासीहरू र पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ थपे
गणतन्त्रमा जान अरू पार्टी तयार थिएनन् । जनकपुरमा नेपाल सद्भावना पार्टीको सम्मेलन चलेको थियो । एमालेको तर्फबाट मलाई पनि बोलाइएको थियो । मैले सम्बोधनका क्रममा सद्भावना पार्टीका कार्यकर्तालाई गणतन्त्रका लागि आन्दोलनमा उत्रिन आग्रह गरें । मैले त्यसरी बोलेलगत्तै हृदयेश त्रिपाठीले यो कम्युनिस्टहरूको घनचक्करमा फस्नु हुँदैन भनेर बोले ।
पछिसम्म पनि गिरिजाबाबु गणतन्त्रमा जान तयार हुनुभएन । कांग्रेसको महाधिवेशन जावलाखेलमा भएको थियो । मलाई पनि शुभकामना मन्तव्यका लागि बोलाइएको थियो । मैले सम्बोधनका क्रममा भनें, 'तपाईंहरूले ००६ सालदेखि बोक्दै आएको संवैधानिक राजतन्त्रको भ्रम जालबाट मुक्त हुनुहोस् । राजालाई राखेर केही फाइदा छैन, गणतन्त्रका निम्ति जुर्मुराएर उठ्नूस् ।'
गिरिजाबाबुले भन्नुभयो, 'माधवजीले हामीलाई उल्क्याउन खोज्नुभएको छ, त्यसको पछिपछि नजाऊँ ।' कांग्रेस त्यसबेलासम्म पनि गणतन्त्रको निम्ति तयार थिएन ।
एमालेको एक्लो आन्दोलन
हामीले आफ्नो प्रयास छाडेनौं । काठमाडौंको आन्दोलनमा सहभागी संख्या घट्न थालेको छ । नागरिक समाजका मान्छेले आन्दोलनलाई खिज्याउन थालेका छन् । जिल्ला-जिल्लामा जाऊँ भन्दा कांग्रेसले मानेन । त्यसपछि एमालेले एक्लै आन्दोलन गर्ने निर्णय गर्यो । त्यसबेलासम्म त्यस विषयमा माओवादीसँग पनि कुरा भएको थिएन ।
माओवादीलाई हामीले खाली शान्तिपूर्ण राजनीति गर मात्र भनेका थियौं । माओवादीलाई हाम्रा कार्यकर्ताको हत्या गर्ने काम बन्द गर भनेका थियौं ।
हामीले एउटा योजना बनायौं । देशका ठूला १० शहरमा विशाल प्रदर्शन गर्ने । सभाहरू गर्दै आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने । साउनमा हाम्रो पार्टीको बैठकमा मैले सोधें, 'ल भन्नूस्, को तयार हुनुहुन्छ पहिलो सभा गर्न ?'
किनभने, त्यसबेला आमसभा निकै ठूलो चुनौती थियो । रामनाथ ढकाललाई भनें, 'तपाईं उठ्नूस् ।' उहाँं तयार हुनु भयो तर समय चाहिन्छ भन्नुभयो । दशैंअघि नै गर्नुपर्छ भनें । तर, पछि बुटवलमा ४ मंसिरमा पहिलो आमसभा गर्ने निर्णय भयो । बुटवलको सभापछि देशका १० शहरमा सभाको तयारी भयो । र, एकपछि अर्को विशाल उपस्थिति हुन थाल्यो ।
मोरिआर्टीलाई चेतावनी
बुटवलमा कार्यक्रम हुने भएपछि अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीसँग भेट भयो । त्यसमा उनले राजनीतिक दल र नेता अलोकप्रिय छन् भने । मैले उनको भनाइलाई चुनौती दिएँ । र, देखाइदिन्छौं भनें ।
मैले छविलाल विश्वकर्मालाई सोधें, 'कति मान्छे हुन्छन् सभामा ?' उहाँले भन्नुभयो, '५०-६० हजार ।' त्यसपछि मैले मोरिआर्टीलाई भनें, 'बुटवलमा जाऊ, सबैभन्दा अग्लो घरमा बस र सभामा आएका मान्छेको टाउको गन । ६० हजारभन्दा कम रहेछन् भने मलाई भन्नु ।'
त्यसबेला म दिल्ली जाँदा प्रणव मुखर्जीले समेत त्यही कुरा दोहोर्याए । मैले मुखर्जीलाई पनि त्यही जवाफ दिएँ ।
प्रचण्डलाई भनें, 'खुरुक्क दिल्ली आउनूस्'
३० कात्तिकमा बल्खुमा कार्यकर्ता भेला बोलाएका थियौं । त्यसबेला हामीलाई भारत भ्रमणको निम्तो आयो । म, केपी ओली र अमृत बोहरा भारत गयौं । त्यस क्रममा प्रचण्डसँग कुरा भएको थियो, 'अब तपाईं दिल्ली आउनूस्' भन्यौं ।
त्यसअघि उहाँले रोल्पामा बोलाउनुभएको थियो । मैले आफू आउन नसक्ने तर त्यहींका नेताहरूलाई पठाउँछु भनेको थिएँ । वामदेव गौतम र युवराज ज्ञवाली प्रचण्डलाई भेट्न रोल्पा जानुभयो । उहाँहरूले रोल्पा पुगेर कुरा गर्नुभयो ।
हामी दिल्ली जाने भएकाले दिल्लीमै पछि कुरा गरौं भनेका थियौं । तर, प्रचण्डले आफू दिल्ली आउन नसक्ने कुरा गर्नुभयो । मैले तपाईं जसरी पनि आउनूस् भनें । पटक-पटक हामी दिल्ली आउन सक्दैनौं, तपार्इंसँग कुरा गर्न फिलिपिन्स जाने कि भन्नेसम्म कुरा भयो । र, युरोपको कुनै ठाउँमा भेट्ने कि भन्नेबारे पनि छलफल भएको बताएँ ।
मैले प्रचण्डलाई वार्ता गर्न सीपीएमको सहयोगबाट केरला जाऊ पनि भनेको थिएँ । कतै पार नलागेकाले प्रचण्डलाई जसरी पनि दिल्ली आउनूस् भनें ।
यसरी भयो १२ बुँदे
गिरिजाबाबुलाई फोन गरेर दिल्ली बोलाएँ । र, तीन वटै पार्टीका नेताहरू दिल्लीमा भेला भयौं । दिल्लीमा एमाले-माओवादी र कांग्रेस-माओवादी अलग-अलग छलफल भयो । छलफलपछि हामी काठमाडौं फर्कियौं ।
त्यसपछि फेरि म र केपी ओली एपोलो अस्पतालमा 'फलोअपको' बहानामा गयौं । त्यही बेला १२ बुँदे सहमति गर्यौं । त्यसबेला हाम्रो कार्यक्रममा माओवादीले हस्ताक्षेप नगर्ने सहमति भएको थियो ।
'बेबी किङ'को वाहियात कुरा
नेपालमा राजासँग त्यसअघि हाम्रो कुनै कुरा भएको थिएन । गिरिजाबाबु र माओवादीको भित्रभित्रै के भएको थियो, थाहा भएन । त्यसअघि माओवादीसँग छलफल हुँदा त्यो मैले राजालाई सुनाउने गरेको थिएँ । माओवादीले राजा ज्ञानेन्द्र, गिरिजाबाबु र म बसेर कुरा मिलाउन भन्थे ।
माओवादीहरू राजा र गिरिजाबाबुकोमा यो कुरा पुर्याइदिनुपर्यो भन्थे । म पुर्याइदिन्थें । ज्ञानेन्द्र पनि कुरा सुनेर छुट्टै आनन्द लिन्थे । ज्ञानेन्द्रले हामीलाई पन्छाउने र माओवादीलाई प्रयोग गरेर दलहरूलाई तह लगाउने प्रयास गरेका थिए । ज्ञानेन्द्रले म र गिरिजाबाबुलाई अलग-अलग भेटेर लडाउने प्रयास गरेका थिए ।
करणसिंहले पार्टी कार्यालय बल्खुमा आएर ‘बेबी किङ’ स्वीकार गर्न आग्रह गरे । विभिन्न देशका राजदूतहरूले राजा राख्न सुझाव दिएका थिए ।
मैले गिरिजाबाबुलाई भनें, 'तपाईंलाई राजाले के भन्छन्, त्यो मलाई सुनाउनूस्, मसँग के भने त्यो तपाईंलाई सुनाउँछु ।' त्यसपछि हामी दुवैबीच 'क्लोज कम्युनिकेसन' हुन थाल्यो । आफूसँग के कुरा भयो, त्यो आफैंमा राख्ने गिरिजाबाबुको तरिका मलाई पहिलादेखि नै मन परेको थिएन ।
दाङ आक्रमण हुँदा गिरिजाबाबुले प्रधानमन्त्री पद छाडिदिनुभयो । मसँग कुनै सल्लाह गर्नुभएन । म विपक्षी दलको नेताप्रति उहाँको विश्वास भएन । फेरि सल्लाह गर्ने कांग्रेस नेताहरूको बानी छैन । यस्तो पर्यो के गर्ने भनेर सोधेको भए राजाको मामिलामा हामी सम्झौता गर्नेवाला थिएनौं ।
पछि उहाँलाई पनि यस्तो कुराको महशुस भयो । पर्यो भने गणतन्त्रमा जानुपर्छ भन्ने पनि उहाँलाई लाग्न थाल्यो । तर, १२ बुँदे सहमति गर्दा गिरिजाबाबुले 'बेबी किङ'को अवधारणा त्याग्नुभएको थिएन । ७ वैशाख ०६३ सम्म पनि यो अवधारणामा उहाँ कायमै हुनुहुन्थ्यो ।
विदेशी राजदूतहरूको राजा राख्ने दबाब
७ वैशाख ०६३ मा भारतबाट कररण सिंह नेपाल आए । त्यतिखेर म ककनीमा सशस्त्र प्रहरीको थुनामा थिएँ । म थुनामक्त भएर पार्टी कार्यालय पुग्दा करण सिंह कार्यवाहक महासचिव अमृत बोहरासँग छलफल गरिरहनुभएको थियो ।
म पुगेपछि सिंहले 'बेबी किङ'को प्रस्ताव राख्नुभयो । मैले त्यसलाई अस्वीकार गरें । मैले जवाफ दिएँ, 'धेरै पहिला यो प्रस्ताव आएको भए मान्न पनि सकिन्थ्यो तर अब त्यो सम्भावना छैन । अब हामी कुनै किसिमको राजतन्त्रको पक्षमा छैनौं ।' तर, उनले गिरिजाबाबु र शेरबहादुरलाई 'बेबी किङ'मा 'कन्भिन्स' गरेछन् ।
८ वैशाखमा राजाको वक्तव्य आउनेबित्तिकै गिरिजाबाबुको फोन आयो । 'माधवबाबु अहिले राजाको वक्तव्य आएको छ, अब कसरी अगाडि बढ्ने भन्नेमा शेरबहादुरसँग कुरा गर्नूस् ।' उहाँले मलाई सोझै भन्ने आँट गर्नुभएन । त्यसपछि शेरबहादुरको फोन आयो, अब यसलाई मानिहालौं भनेर ।
देउवालाई हिम्मतहारा र आँट नभएको मान्छे भनेर झपारें
देउवाले राजाको वक्तव्यलाई समर्थन र स्वागत गर्ने प्रस्ताव राख्नुभयो । मैले भनें, 'यस्ता वक्तव्यलाई स्वागत र समर्थन गर्ने कुरा कुनै हालतमा हुँदैन ।'
देउवाले कड्कँदै भन्नुभयो, 'त्यसो भए के रक्तपात मच्चाउने ? रगतको खोलो बगाउने ?'
मैले भनें, 'तपाईंले के चाहेको ? रगतको खोलो पनि बग्दैन, केही हुँदैन । हिम्मत हारा, आँट नभएको मान्छे ।'
भारतीय, अमेरिकी, नर्वेली र बेलायत राजदूतले फोन गरेर राजाको ८ वैशाखको वक्तव्यलाई समर्थन गर्न दबाब दिएका थिए । उनीहरूले 'त्यो वक्तव्यलाई समर्थन गर्दा तपाईंहरूले खोजेको कुरा विस्तारै प्राप्त हुन्छ, यति गरिसकेपछि राजा गलेको ठहरिन्छ, थप गलाउनु होला' भनेका थिए ।
मैले भनें, 'यो सम्भव छैन, हामी यसलाई अस्वीकार गर्छौं, आन्दोलन जारी राख्छौं ।'
भोलिपल्ट महाराजगञ्जमा आन्दोलनरत पार्टीहरूको बैठक बस्यो । त्यसबेला युरोपियन युनियनका १५ राजदूत आए । उनीहरू राजाको ८ वैशाखको वक्तव्यलाई स्वागत गर्न हामीलाई कन्भिन्स गर्न आएका थिए । त्यसबेलासम्म कांग्रेसभित्र पनि यो विषयमा दबाब बढेको थियो । बाहिर उत्तिकै जुलुसहरू आइरहेका थिए ।
जुलुसलाई शान्त पार्न तपाईंले बोल्नूस् भनेर गिरिजाबाबुले मलाई भन्नुभयो । उहाँ मसँगै उभिनुभयो । मैले मासलाई भनें, 'तपाईंहरू आतिनुपर्ने अवस्था छैन, हामी घुँडा टेक्दैनौं । आन्दोलन जारी राख्नूस्, आउनूस् अगाडि, हामी पनि आउँछौं ।'
त्यहाँ आएका विदेशीलाई भन्यौं, 'तपाईंहरूले भनेको कुरा अब असम्भव ।' त्यसपछि राजाको वक्तव्यको निन्दा गरेर 'म गएँ आन्दोलनमा' भन्दै निस्किएँ । कलंकी पुग्दा कांग्रेसका नेताहरूले बोलेको बेला हुटिङ भइरहेको थियो । आन्दोलनकारीहरू कसैको कुरा सुन्न तयार थिएनन् । मैले सम्बोधन गरें, 'तपाईंहरू आन्दोलन जारी राख्नूस्, यसलाई सफलताको विन्दुमा नपुर्याई छाडिन्न ।'
आन्दोलनको गति तीव्र भयो । संयुक्त राष्ट्रसंघका तत्कालीन 'कन्ट्री डाइरेक्टर' बल्खुमा भेट्न आए । समस्या समाधानका लागि भन्दै सम्झौताको प्रस्ताव ल्याए । मैले भनें, 'काठमाडौंबाट न्युयोर्क धेरै टाढा छ, न्युयोर्कबाट पुल्चोक अझ टाढा छ, पुल्चोकबाट नारायणहिटी धेरै टाढा छ तर नारायणहिटीबाट कोटेश्वर र बल्खु धेरै टाढा छैनन् ।'
मेरो सांकेतिक कुरा थियो, नारायणहिटीबाट न्युयोर्क र न्युयोर्कबाट तिम्रोमा जाने लामो कुरा छोडिदेउ । राजाले चाहेमा तुरुन्तै हामीसँग छलफल गर्न सक्छन् । अर्थात्, हामी आफैं यो समस्या समाधान गर्न सक्छौं । तिमी धेरै टाउको नदुखाऊ ।
हाम्रो मस्यौदामा राजाका दुई शब्द
त्यसपछि पशुपतिभक्तले मलाई फोन गरे । मैले आउनूस् भनेर बोलाएँ । १० वैशाखमा पशुपतिभक्तको फोन आएपछि हामी भरतमोहन अधिकारीको निवासमा जम्मा भयौं । हाम्रो पार्टीको स्थायी समिति बैठक बसिरहेको थियो । 'पशुपतिभक्त भेट्न आएका छन् म हिँडें' भन्दै बाहिरिएँ ।
राजालाई शीतल निवासबाट बिदा गर्ने क्रममा गिरिजाप्रसाद कोइरालाले राम्रो अडान लिनुभयो
मैले पशुपतिभक्तलाई भनें, 'अब यो तरिकाले भएन । राजालाई भनिदिनूस्, खुरुक्क छाडिदिनूस् । अब पूर्ण सार्वभौमसत्ता जनतामा हस्तान्तरण गरिदिनूस् ।'
हामीबीच छलफल भयो । राजाले दिने वक्तव्यको मस्यौदा तयार गर्यौं । र, त्यो मस्यौदा पशुपतिभक्तको हातमा पठाइदियौं । कांग्रेसले पनि एउटा मस्यौदा गरेर पठाइदियो । त्यस राति गिरिजाबाबुको निवासमा म, गिरिजाबाबु र पशुपतिभक्त बसेर एक-एक शब्द हेरेर राजाले प्रयोग गर्ने भाषा तयार भयो । त्यो मस्यौदामा राजाले दुई शब्द थपे 'प्यारा देशवासीहरू' र 'पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।'
गणतन्त्र शब्द राख्न कांग्रेस मानेन
दिल्लीमा भएको वार्तामा कांग्रेस गणतन्त्रमा आइसकेको थिएन । त्यसैले त्यो मस्यौदामा गणतन्त्र शब्द राख्न मानेन । र, मस्यौदामा प्रजातन्त्र शब्द राख्ने प्रस्ताव आयो । प्रजातन्त्र भनेको राजासहितको हुने भएकाले हामीले मान्ने कुरा भएन । माओवादीहरू 'पूर्ण प्रजातन्त्र' शब्द राख्न तयार भए । 'पूर्ण प्रजातन्त्र' कांग्रेसका लागि सामन्य राजा र हाम्रा लागि गणतन्त्र ।
हामीले आन्दोलन शान्तिपूर्ण हुनुपर्छ, माओवादीले बम पड्काउनु हुँदैन भनेका थियौं । तर, मान्छे पठाऊ भनेका थिएनौं । गिरिजाबाबुचाहीं माओवादीहरूलाई नछोड्नु होला है भनिदिनु हुन्थ्यो । त्यो उहाँको गलत कुरा थियो । गिरिजाबाबुले उल्क्याएर पनि माओवादी अलि उल्केको हो ।
एक पटक म हेटौंडाबाट छैमलेको बाटो हुँदै काठमाडौं आउँदै थिएँ । माओवादीले थानकोट आक्रमण गरेको सुनें । मैले प्रचण्डलाई तुरुन्तै फोन गरें । मैले सोधें, 'हाम्रो आन्दोलनलाई 'सेबोटाज' गर्न थानकोट आक्रमण गरेको हो ? तपाईंहरूले त्यसो गर्न थाल्नुभयो भने राजालाई सेना, प्रहरी लगाउन बहाना मिल्दैन ?'
जवाफमा प्रचण्डले भने, 'गल्ति भयो ।' तथापि, माओवादीले बल प्रयोगबाट गणतन्त्र ल्याउन कोशिस गरिरहे । तर, पछि उनीहरूको भनाइ रुखको हाँगा बोकेर आन्दोलनमा आयौं भन्ने छ । मान्छे पठाए होलान्, त्यसले आन्दोलनलाई सहयोग पुग्यो होला । तर, हामीबीचमा मान्छे पठाउने सहमति भएको थिएन ।
अन्तिममा राजाको आशा
११ वैशाखको वक्तव्य दिइरहँदा राजाले उनलाई गद्दीमै राख्छन् भन्ने सोचेका थिए होला । अरू केही कुरा भएको थिएन । हाम्रो ध्यान संसद पुनःस्थापनामा मात्र थियो । राजसंस्थाका विषयमा गिरिजाबाबुसँग कुनै कुरा भएको भए मलाई थाहा छैन । तर, मसँग कुनै कुरा भएको छैन ।
मसँग सार्वभौमसत्ता कसको हातमा हुने भन्ने मात्र थियो । जनता र संसदको हातमा गएपछि त त्यसले गरेको निर्णय मान्नु पर्यो नि । राजालाई धोका भयो भन्ने लाग्यो होला । तर, हामी गणतन्त्रभन्दा तलको कुरा मान्ने मुडमा थिएनौं ।
भिडियो हेर्नुहोस्
एमालेले मानेको भए गणतन्त्र आउँदैनथ्यो
संसद पुनःस्थापनापछि कांग्रेस द्विविधामा थियो । संसद बैठकमा राजाको राजदण्डलाई के गर्ने भन्ने प्रश्न आयो । राजदण्ड राख्नुपर्छ भन्नेमा शेरबहादुर र रामचन्द्रजी लाग्नुभयो । कुनै हालतमा राख्न हुँदैन भन्ने पक्षमा म उभिएँ । दुई पक्षबीच चर्काचर्की भयो ।
देउवाले फेरि पहिलेकै शब्द प्रयोग गर्नुभयो, 'फेरि रक्तपात मच्चाउन खोजेको ?' देउवा प्रधानमन्त्री भएको बेला मैले उहाँलाई भनेको थिएँ, 'तपाईं संसद पुनःस्थापना गरिदिनूस् ।' उहाँले आँटै गर्नु भएन । कमजोर मनस्थितिका मानिस हुन्, देउवा ।
मैले पुनःस्थापित संसदमा राजदण्ड नराख्ने अडान लिएँ । राजतन्त्र भएका मुलुकका संसदमा पनि राजदण्ड राख्ने चलन छैन । 'अनि, यहाँ किन राख्नु पर्यो' भनेर अडान लिएँ, मैले । कांग्रेसका नेताहरू राजतन्त्रको पक्षमा थिए । गिरिजाबाबुमा पनि कता-कता 'बेबी किङ'कै मनस्थितिमा हुनुभयो ।
त्यसमा हामीले नमानेपछि उहाँहरू लतारिएर आउनुभयो । खासमा, कांग्रेस गणतन्त्रमा लतारिएको हो । त्यसका लागि भूमिका निर्वाह गरेको एमालेले हो । अरू पार्टीले जति कराए पनि अर्थ थिएन । माओवादी आइसकेको थिएन । माओवादीलाई पनि मान्य हुने र जनताको मनमा पनि गणतन्त्र गइसकेकाले त्यस्तो अवस्था सिर्जना भएको हो । गणतन्त्र आउने वस्तुगत परिस्थितिलाई बुझेर एमालेले काम गरेको हो ।
गणतन्त्र घोषणा भएपछि भने गिरिजाबाबुले राम्रो अडान लिनुभयो । राजालाई शीतल निवासबाट बिदा गर्ने बेलामा पनि उहाँको अडानले काम गरेको छ । राजालाई नारायणहिटीमा राख्नु हुँदैन, पूर्वराजाको व्यवहार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगियो । गिरिजाबाबुले पनि आँट नगरेको र घुँडा टेकेको भए गणतन्त्र आउन सम्भव थिएन । एमालेले मात्रै जतिसुकै भने पनि कांग्रेसको साथबिना गणतन्त्र आउँदैनथ्यो । र, एमालेले नअडिएको भए कांग्रेस पनि लतारिएर आउने थिएन । (बालकुमार नेपालसँगको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी...