बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमाले विवाद कर्णालीमा पनि चर्कियो, नेपाल समूहको राष्ट्रिय भेलाकै दिन संसदीय दलको बैठक

एमाले विवाद कर्णालीमा पनि चर्कियो, नेपाल समूहको राष्ट्रिय भेलाकै दिन संसदीय दलको बैठक

फुटको संघारमा रहेको नेकपा (एमाले)को विवाद थप चर्किंदै गएको छ। दुई हप्तादेखि केन्द्रमा भइरहेको रस्साकस्सी अब कर्णाली प्रदेशमा पनि सुरु भएको छ।
 |  बुधबार, चैत ४, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, चैत ४, २०७७

सुर्खेत– फुटको संघारमा रहेको नेकपा (एमाले)को विवाद थप चर्किंदै गएको छ। दुई हप्तादेखि केन्द्रमा भइरहेको रस्साकस्सी अब कर्णाली प्रदेशमा पनि सुरु भएको छ।

triton college

केन्द्रमा जस्तै कर्णालीमा पनि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले एकलौटी निर्णयका आधारमा अघि बढ्ने संकेत देखाएको छ। माधवकुमार नेपाल समूहलाई बाइपास गर्ने रणनीतिले आज (बुधबार) ओली समूहले कर्णालीमा एमाले संसदीय दलको बैठक बोलाएको छ।

नेपाल समूहले आज नै काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको मौका छोपी ओली समूहले दिउँसो १ बजे दलको बैठक बोलाएको हो। यद्यपि दलको बैठकमा नेपाल समूहका सांसदलाई पनि सहभागी हुन खबर गरिएको छ। तर नेपाल समूहमा खुलेका सांसदहरु भने बैठकमा सहभागी हुने अवस्था छैन।

‘म काठमाडौँमा छु, दलको बैठक बोलाएको जानकारी आएको छ। तर बैठकमा सहभागी हुन सक्ने अवस्था छैन,’ नेपाल समूहका सांसद सुशीलकुमार थापाले भने, ‘सकेसम्म सबैको सहमतिमा बैठक बस्नुपर्छ भन्ने मेरो मान्यता हो।’ केन्द्रको विवाद प्रदेशमा चर्काउन नहुने उनको तर्क छ।

ओली समूहले भने नेपाल समूहलाई पेलेरै अगाडि बढ्ने रणनीति बनाएको छ। सोही रणनीति अनुसार ओली समूहले नेपाल पक्षले राष्ट्रिय भेला गरेकै दिन दलको बैठक डाकेको हो। ‘दलको बैठकका विषयमा तीन दिनअघि नै सबै सांसदलाई खबर गरिएको छ,’ एमाले संसदीय दलका प्रमुख सचेतक गुजावजंग शाहले भने, ‘पूर्व निर्धारित समय अनुसार आज दिउँसो १ बजे दलको बैठक बस्छ।’

Metro Mart
vianet

बैठकमा सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने, एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दबाब दिने र ओली पक्षको नेतृत्वमा सरकारमा जाने रणनीतिमा विषयमा छफलफल हुनेछ। 

सर्वाेच्च अदालतले एमाले र माओवादीलाई ब्युँताइदिएपछि कर्णाली प्रदेश सरकार संकटमा छ। यही मौकामा तत्काल सरकार ढाल्नुपर्ने ओली पक्षको रणनीति छ। प्रदेशमा अल्पमत भए पनि तत्कालीन नेकपा हुँदा कर्णालीमा माओवादीले नेतृत्व गर्ने अवसर पाएको थियो।

सरकारको नेतृत्व गर्न नपाएपछि एमालेमा पनि ओली समूह सुरुदेखि नै सरकारप्रति रुष्ट छ। ओली समूहको अगुवाइमा गएको असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै तत्काली नेकपामा विवाद उत्कर्षमा पुगेको थियो।

विगतका घटनाक्रम र बहुमतको कदर गर्दै ओली समूह तत्काल वर्तमान सरकार ढालेर आफ्नो नयाँ सरकार गठन गर्ने पक्षमा छ।

‘एमालेलाई जनताले बहुमत दिएका छन्। जनमतको कदर गर्ने हो गर्दै अब एमालेले सरकारको नेतृत्व नयाँ सरकार गठन गर्नुको विकल्प छैन,’ ओली समूहका एक सांसद भने, ‘आजको बैठक नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्नकै लागि दलको बोलाइएको हो।’

छलफलका विषयहरु भने बैठकपछि मात्रै सार्वजनिक गरिने ती सांसदले बताए। उनका अनुसार दलको बैठकमा विषेशगरी सरकारको नेतृत्व र मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने विषयमा छलफल हुनेछ।

ओली समूह कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेललाई मुख्यमन्त्रीका लागि अघि सार्ने पक्षमा छ। नेकपाको एकताअघि नै कँडेल एमाले संसदीय दलको नेतामा निर्वाचित भइसकेका छन्। जसका कारण कँडेल मुख्यमन्त्रीका पहिलो दाबेदार हुन्। पूर्व मन्त्रीसमेत भइसकेका कँडेल मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेशमा झरेका हुन्।

यद्यपि प्रदेशमा सरकार गठन हुने परिस्थिति आएको खण्डमा नेपाल समूहले पनि मुख्यन्त्रीको दाबी गर्नेछ। नेपाल समूहबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला मुख्यमन्त्रीको दाबेदार छन्। 

कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसदमध्ये नेपाल समूहमा हाल ७ जना (प्रकाश ज्वाला, सुशीलकुमार थापा, देवी ओली, चन्द्रबहादुर शाही, कुर्मराज शाही, करविर शाही, अमरबहादुर थापा)  खुलेका छन्। यसअघि नेपाल गुटमै रहेकी सांसद पद्मा खड्काले दलको बैठकको पूर्वसन्ध्यामा गुट परिवर्तन गरेकी छन्।

ओली समूहमा १० जना सांसद (यामलाल कँडेल, राजबहादुर शाही (सभामुख), गुलावजंग शाह, बद्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, खड्कबहादुर खत्री, दानसिंह परियार, कौशिलावती खत्री र पद्मा खड्का) खुलेका छन्।

दुई मन्त्री र एक सांसद कुन गुटलाई साथ दिन्छन् भन्ने यकिन छैन। तत्कालीन नेकपामा विवाद हुँदा प्रचण्ड–नेपाल समूहमा लागेका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र जुम्लाका सांसद पदमबहादुर रोकाया पछिल्लो समय कुन गुटमा लाग्छन् भन्ने यकिन छैन।

मन्त्रीद्वय यसअघि ओली समूहबाट मन्त्री बनेका हुन् भने सांसद रोकाया लामो समयदेखि ओली समूहलाई साथ दिँदै आएका थिए। संसद् विघटन गर्ने सरकारको निर्णयपछि आएको विवादमा मन्त्रीद्वय र सांसद रोकाया ओलीको विपक्षमा उभिएका थिए। यद्यपि ओली समूहले भने मन्त्रीद्वय रावल, बुढा र सांसद रोकाया आफ्नो पक्षमा उभिसकेको दाबी गरेको छ। 

४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्। सरकार गठनका लागि एमालेलाई एक जना अपुग हुन्छ।

पार्टीभित्रको विवाद मिलेको खण्डमा राप्रपाका सांसद सोशिला शाहीको समर्थनमा एमालेले सरकार गठन गर्नसक्छ। माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका सांसद धर्मराज रेग्मी ओली समूहको प्रदेश सचिव बनेका छन्। यसकारण माओवादीमा अब उपसभामुखसहित १२ जना सांसद मात्र छन्। कर्णालीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा मिल्दा पनि सरकार गठन गर्न सक्ने अवस्था छैन।
 

प्रकाशित: Mar 17, 2021| 05:44 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।