काठमाडौं– मुलुकको राजनीति अत्यन्तै अस्थिर भएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई सर्वदलीय बैठकका लागि आह्वान गरिन्। आज मंगलबार अपराह्न ४ बजे शीतल निवासमा बस्नेगरी राष्ट्रपति कार्यालयले बैठकको सूचना निकाल्यो।
केही समययता सरकारको ‘कठपुतली’ बनेको भनेर आलोचित राष्ट्रपतिको फेरि एकपटक आलोचना भयो। प्रधानमन्त्री केपी ओली राजनीतिक संकटमा फसेपछि उनको बचाउमा राष्ट्रपति उत्रिएको भनेर पनि टिप्पणी गरे कतिपयले।
जे होस्, सर्वदलीय बैठक बस्यो। बोलाएकाहरु सबैजसो शीतल निवास पुगे। नेकपा एमालेको असन्तुष्ट पक्षका माधवकुमार नेपाल र झलनाथ खनाल भने कार्यव्यवस्तताको कारण देखाएर राष्ट्रपतिले बोलाएको बैठकमा गएनन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि शीतल निवास जाने जाँगर चलाएनन्।
करिब साढे ४ बजे सुरु भएको बैठक करिब एक घण्टा चल्यो। सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक बोलाउनुको उद्देश्यबारे प्रकाश पारिन्। यसरी बैठक नबसेको पनि धेरै भएको र आफू बंगलादेशको भ्रमणमा जान लागेकोले त्यसैबारे जानकारी गराउने र चियापान गर्ने उद्देश्यले बैठक बोलाएको उनले बताइन्। लिखित मन्तव्य दिएकी राष्ट्रपतिले भनिन्, ‘दलका नेताहरुसँग भेटघाट गर्न चाहेकी थिएँ। कोभिडले मिलेन, अहिले मिलेकोले बोलाएको हो, चियापान गरौं भेटघाट गरौं भनेर।’
राष्ट्रपतिको चैत ९ र १० गते हुने बंगलादेश भ्रमण र दलका नेताहरूबीच चियापान गर्दै छलफल गर्ने तय भएको थियो।
बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिले शिक्षा, स्वास्थ्य, वातावरणको अवस्थाका बारेमा ध्यानाकर्षण गराएकी थिइन्।
उनले आफू बंगलादेश भ्रमणमा जान लागेको जानकारी गराएपछि दलका नेताहरूले भ्रमण सफलताको शुभकामना दिए। राष्ट्रपतिले छलफलका क्रममा दलहरुबीच छलफल र सल्लाह होस् भन्ने नै धारणा राखेको सहभागी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले जानकारी दिए। ‘दलहरुबीच सहमति हुन्छ कि हुँदैन, दल विभाजित भयो भन्ने सुनेको छु। मिलेर जानुपर्छ,’ राष्ट्रपतिको भनाइ उधृत गर्दै गुरूङले भने।
राष्ट्रपतिले लिखित मन्तव्य राख्दासम्म सर्वदलीय बैठक शान्तिपूर्ण नै थियो। तर, बैठकमै बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक विषयमा प्रवेश गरे। त्यसपछि भने दलका नेताहरू आक्रोशित बनेका थिए।
‘पुस ५ गते मैले संसद् भंग गरेको अदालतले उल्टाइदियो। मुद्दामा हारेको हो, दलसम्बनधी मुद्दा परेर हारेपछि दल पनि विभाजित बन्यो,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक सहभागी नेताले भने।
प्रधानमन्त्रीले सदन चल्न नसकेकाले सहमतिमा संसद् भंग गरेर चुनावमा जाउँ भनेका थिए। ‘फेरि पनि चुनावमा जाउँm, पहिले पनि मैले भनेकै हो सर्वोच्च अदालतले रोकिदियो,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सर्वदलीय बैठकमा सहभागी नेताहरु आक्रोशित बनेका थिए। प्रधानमन्त्री राजनीतिक विषयमा प्रवेश गरेपछि अरु नेताहरु आक्रोशित बनेको नेता गुरूङले जानकारी दिए।
अदालतको अवज्ञा गरेर मध्यावधिमा जाने कुरा गरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित बनेका थिए।
‘यत्रो सहमति गरेर संविधान बनाएको छ। तपाईं लोकतन्त्र सिध्याउन खोज्ने,’ वरिष्ठ नेता पौडेलले बैठकमा भने।
जसपाका नेता उपेन्द्र यादवले पनि प्रधानमन्त्रीको भनाइप्रति गम्भीर आपत्ति जनाएका थिए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि ‘तपाईंलाई चित्त बुझेन भनेर संसद् भंग गर्छु भन्ने अनि अहिलेसम्मका उपलब्धि खतरामा पार्ने सिध्याउन खोज्ने’ भन्दै कडा प्रतिवाद गरे।
राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सर्वोच्चको आदेशलाई पालना गरेर जानुपर्ने र संसदमा समस्या भए प्रधानमन्त्रीले समाधान खोज्नुपर्ने धारणा राखे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले बोलाएको बैठकमा प्रधानमन्त्री राजनीतिक विषयमा प्रस्तुत हुनु गलत भएको भन्दै राजनीतिक विषय राजनीतिक रुपमा नै सल्लाह गरेर टुंग्याएर अघि बढ्नु राम्रो हुने बताए। ‘संविधान, कानुनभन्दा बाहिर गएर कुरा र बहस गर्ने विषय होइन। सम्बन्धित ठाउँमा गरौंला,’ बैठकमा दाहालले भने।