जनकपुरधाम - विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमा सुरु भएको छ।
धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मिथिलाविहारी मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु भएको हो।
कचुरीबाट सुरु भएको मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरू शनिबार साँझसम्म जनकपुरधाममा पुगी विश्राम गर्नेछन्।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकीको डोला र मिथिला विहारी अर्थात् भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गरिने गरिन्छ।

फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर आइतबार भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्ने छ।
हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुआत हुन्छ।
नेपालको धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भू–भागको यात्रा गरिने छ, जसलाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ।

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ।
पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम पुग्ने छ।
फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तगृहको परिक्रमा गरी त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली खेल्ने परम्परा छ।