एजेन्सी- म्यानमारमा जारी सैनिक शासकविरुद्धको प्रदर्शनमा आज (बिहीबार) थप ७ जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमहरुलाई उधृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सुरक्षाकर्मीको गोली प्रहारबाट थप ७ प्रदर्शनकारीको मृत्यु भएको हो।
म्यानमारमा सैनिक शासकविरुद्ध नागरिकहरुले लगातार प्रदर्शन गर्दै आएका छन्।
निर्वाचित सरकार पुनर्स्थापनाको माग गर्दै त्यहाँ प्रदर्शन भइरहेका छन्। उनीहरुले नेतृ आङ सान सुकीलगायत निर्वाचित नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँको म्याइंग अस्पतालका डाक्टरहरुले आज मात्रै गोली लागेका ६ जनालाई मृत घोषित गरेका छन्। सोही अस्पतालमा उपचाररत एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको छ।
आज म्यानमारका अधिकांश ठूला सहरमा सैन्य शासकविरुद्ध प्रदर्शन भएका छन्।
यसैबीच मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले म्यानमारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सैन्य शासकले प्रदर्शनकारीविरुद्ध युद्धको रणनीति अपनाइरहेको आरोप लगाएको छ।
म्यानमारको एक स्थानीय संगठनका अनुसार अहिलेसम्म त्यहाँ ६० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ। २ हजारभन्दा बढी प्रदर्शनकारीलाई सैनिक सरकारले बन्धक बनाएको छ।
गत फेब्रुअरी एकमा त्यहाँको सैनिकले निर्वाचित सरकारका अधिकारीहरुलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको थियो।