सुर्खेत- जुम्लाको सिँजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो। सिँजाबाटै नेपाली खस भाषाको विकास र विस्तार भएको इतिहास छ।
तर खस भाषा राज्यको प्राथमिकतामा छैन। न विद्यालयको पाठ्यक्रममा खस भाषा पढाई हुन्छ न शब्दकोश नै तयार भएको छ।
बरु खस भाषा बोल्नेहरुलाई सहरमा पाखे भनेर अपहेलना गरिन्छ। खस भाषाकै उद्गमस्थलमा पनि यसको खासै प्रयोगमा छैन। कर्णालीका अधिकांश क्षेत्रमा बोलिने खस भाषा पनि युवा पुस्ताले भुल्दै गएका छन्। परिणामतः पछिल्लो समय खस भाषा लोप हुने खतरा छ।
लोप हुँदै गएको खस भाषाप्रति भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिन्ता व्यक्त गरेका छन्।
बुधबारदेखि सुर्खेतको बुलबुलेमा सुरु भएको कर्णाली उत्सवको दोस्रो संस्करण उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले समग्र नेपाली भाषाप्रति नै चिन्ता व्यक्त गरे।
‘अहिले आधा नेपाली र आधा अंग्रेजी बोल्ने चलन छ’ मुख्यमन्त्री शाहीले भने, ‘कुनै दिन नेपाली भाषा पनि संग्राहलयमा पुगेर हेर्नुपर्ने दिन आउँछ कि भन्ने चिन्ता छ।’ नयाँ पुस्ताहरुले कर्णालीको इतिहाससँग जोडिएको खस भाषालाई संरक्षण गर्नुपर्ने उनको जोड थियो।
कर्णालीको सभ्यता, इतिहास, भाषा र कलाको संरक्षण र सम्बधन गरेको खण्डमा कर्णाली आत्मनिर्भर बन्ने मुख्यमन्त्री शाहीको तर्क छ। ‘हाम्रा पुर्खाहरु सुनैले ढाकिन्थे काँशका भाँडामा खाना खान्थे, अहिले प्लास्टिकको थालीमा खान्छन्’ उनले भने, ‘अब कर्णालीबासीले हाम्रो इतिहास र पहिचानलाई जोगाउन जरुरी छ।’ २९ गतेसम्म सञ्चालन हुने उत्सवमा भोलि (बिहीबार) देखि विचार विमर्श सुरु हुनेछ।