काठमाडौं– जनता समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका सांसद रेशम चौधरी तथा अन्य नेता–कार्यकर्तालाई जेलबाट छुटाउनका लागि सरकारको नेतृत्व गरिरहेको दलसँग वार्ता भएको बताएका छन्।
भेटमा सत्ता सहकार्यबारे कुनै छलफल नभएको उनले स्पष्ट पारे। ‘जसपाबाट म र सर्वेन्द्रनाथ शुक्ल तथा नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई हुनुहुन्थ्यो। हामीले राखेका कुरा उहाँहरुले सुन्नुभयो र हामीले पनि सुन्यौं। उहाँहरूको कुरा सकारात्मक थियो,’ उनले भने।
सत्ता सहकार्यबारे अहिले संसदीय दलको बैठकमा छलफल भइरहेको उनले बताए। यसबारे बैठकले नै निर्णय लिने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीका सल्लाहकार र नेताहरूले आफूहरू प्रधानमन्त्रीका प्रतिनिधि हौं, वार्ता गर्न आउनुस् भनेपछि आफूहरु गएको उनले सुनाए।
जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीलाई र अरु नेतालाई जानकारी नै नदिई सरकारसँग वार्ता गर्न टोली बनाएको खुलेको छ। आजको बैठकमा उनले यस विषयमा जानकारी गराएका छन्। २३ फागुनमा प्रधानमन्त्री केपी ओलीसँग भेट्न सर्वेन्द्रनाथ शुक्ललाई लिएर बालुवाटार गएका ठाकुरले सोही भेटमा वार्ता टोली बनाउने सहमति गरेको बताइएको छ।