काठमाडौं– राष्ट्रिय सभाकी सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन्।
सांसद वलीले आज मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर पन्तविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।
नेता पन्तले वलीबारे केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए। सो टिप्पणीको तीव्र आलोचना भएको थियो। नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको वलीले बताएकी छन्।
‘उहाँले माफी माग्नुभएको छैन। मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ। त्यसकारण उहाँले मसँग माफी माग्नुभएको छैन। यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन। त्यसकारण मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेको हुनाले मुद्धा दर्ता गर्दैछु,’ उनले भनिन्।
एक कार्यक्रममा नेता पन्तले भनेका थिए, "वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर पाएका छैनन्। तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएका छन्।'