काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत प्रचार गरेको बताएका छन्।
थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गराउन खोजेको आरोप लगाएर कुप्रचार गरेको बताएका हुन्।
सोमबार नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा ओलीले एसिड आक्रमण विरुद्धको अध्यादेश संसदबाट फेल गराउन खोजिएको आरोप लगाएका थिए।
आइतबारको प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने मागसहित कांग्रेसले बैठक अवरुद्ध गरेको थियो।
तर, ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजिएको आरोप लगाएका थिए। ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट प्रधानमन्त्रीज्यू!,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन हामी सदनमा प्रतीक्षारत छौं।’