सुर्खेत – घरेलु हिंसाका कारण दैलेखमा एक परिवारका पाँचजनाले कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ।
दैलेखको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुनिता बडुवाल र उनका छोरीहरू १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ७ वर्षीया रजनी र ८ वर्षे छोरा ललितले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको आशंका छ।
कल्पना र सरिताको शव कर्णाली नदीमा भेटिएको छ।
उनीहरूको शव सोमबार दिउँसो अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसाल नजिकै स्थानीयले फेला पारेका थिए।
माछा मार्न गएका स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
आमासहित अन्य तीनजनाको अवस्था भने अझै अज्ञात छ।
खेतमा घाँस काट्न गएका उनीहरू ४८ घण्टादेखि बेपत्ता छन्।
बेपत्ताहरू कर्णाली नदीमै हाम फालेका हुन् वा होइनन् भन्ने यकीन भएको छैन।
आफन्तहरूले भने कर्णाली नदीमै हाम फालेर आत्महत्या गरेको आशंका गरेका छन्।
उनीहरूको आज बिहानैदेखि राकम प्रहरी, स्थानीय र जनप्रतिनिधिहरूले खोजी गरिरहेका छन्। बेपत्ताहरूको खोजबिन र घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानसहितको टोली घटनास्थल पुगेको छ।
घटनास्थलमै रहेका आठबीस नगरपालिकाका प्रमुख खड्कराज सेजुवालका अनुसार कर्णाली नदीमा बेपत्ताहरूको खोजी गरिरहेको बताए।
स्थानीयवासीले घरेलु हिंसाका कारण सुनिता बडुवालले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेको आशंका गरेका छन्।
सुनिताका पति मानसिंहले दैनिक पिएर कुटपिट गर्ने गरेका कारण सुनिताले आत्महत्याको बाटो रोजेको स्थानीयवासीको आशंका छ।
‘श्रीमानले रक्सी खाएर श्रीमतीलाई सधैँ पिट्ने गर्थे’ छिमेकीको भनाइ उद्धृत गर्दै नगरप्रमुख उपाध्यायले भने, ‘हिंसाकै कारण सुनिता छोराछोरी सहित कर्णालीमा हाम फालेकी हुन्।’
यस्तै प्रहरी नियन्त्रणमा रहेका मानसिंहले पनि रक्सी पिउने र कहिलेकाँही घरमा झगडा हुने गरेको बयान दिएका छन्।
सुनिता बेपत्ता भएको दिन पनि रक्सी पिएको तर त्यो दिन श्रीमतिसँग विवाद नभएको मानसिंहले प्रहरीलाई बताएका छन्।
‘घटना हेर्दा घरेलु हिंसाका कारण सुनिताले सन्तानसहित आत्महत्या रोजेको आशंका छ,’ दैलेखका डीएसपी अनुपम श्रेष्ठले भने, ‘सुनिता बेपत्ता भएको दिन पनि मानसिंहले रक्सी पिएको देखिन्छ।’
यद्यपि कर्णाली नदीमा हाम फालेकामध्ये सुनितासहित तीनजनाको अवस्था अज्ञात रहेका कारण घटनाको वास्तविकता खुल्न सकेको छैन।