काठमाडौं - जनता समाजवादी पार्टी नेपालको पहिलो संसदीय दलको बैठक बस्दै छ। सिंहदरबारमा दिउँसो १ बजे जसपाले संसदीय दलको बैठक बोलाएको हो।
दुई पार्टी एकीकरण भएर जसपा बनेपछि संयुक्त संसदीय दलको बैठक यसअघि बसेको थिएन।
पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा प्रस्तुत हुने विषय र सरकार निर्माणका लागि कोसँग सहकार्य गर्नेलगायतका विषयमा जसपाले आजको संसदीय दलको बैठकमा छलफल गर्ने कार्यक्रम छ।
सांसद एवम् जसपा नेता उमाशंकर अग्रहरीले लकडाउन र बीचमा संसद् विघटन भएका कारणले पार्टी एकीकरणपछि बैठक बस्न नसकेको जानकारी दिए।
‘एकीकरणपछि बनेको पार्टीको आज पहिलो संसदीय दलको बैठक बस्न लागेको हो,’ उनले भने, ‘विधानको विषयमा पनि छलफल हुन्छ।’ तत्कालीन संघीय समाजवादी र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बन छन्।