बुटवल- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुरामले जनताको मुद्दा विर्सेकै कारण धुलोपिठो भएको टिप्पणी गरेका छन्।
‘प्रचण्ड र बाबुरामले गलत बाटो लिए’, कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उनले भने।
उनले सहिद परिवार, बेपत्ता र किसान मजदुरको मुद्दा बिर्सेकै कारण अहिलेको स्थिति पैदा भएको बताए। ‘मन्त्री त हामी पनि हुन सक्थ्यौँ’ उनले भने-‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारबाही गर्नु गल्ती हो ?’ सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको उनले बताए।
न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उनको भनाइ छ। महासचिव विप्लबले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए।
बम टेक्दै र हतियार खोस्दै हिँड्न सक्ने बताउदै उनले महिलाले सम्पत्तिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए। न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दाबी छ।