बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न नेपाल पर्यटन बोर्डले ब्रान्डिङ शुरु गरेको छ।
लुम्बिनीको नाम लेखिएका विभिन्न ढाँचा, रंग र लोगोलाई अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन ब्रान्डिङ गर्न थालेको हो।
ब्रान्डिङका लागि प्रस्ताव गरिएका लोगोका बारेमा सोमबार प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारसँग छलफल गरिएको छ।
प्रस्ताव गरिएअनुसार बुद्ध रंग, अशोका पिल्लर, बुद्ध जन्मस्थल र बुद्धिज्मसँग सरोकार राख्ने विभिन्न तथ्यलाई प्रभावकारी ढंगले ब्रान्डिङमा प्रस्ताव गरिएको छ। प्रस्तावित लोगोमाथि अन्तर्क्रियाका सहभागिले लोगोको अक्षर रन्जना लिपीमा राखेमा अझै प्रभावकारी हुने बताएका छन्।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचार प्रसार र प्रवर्द्धनकोलागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताए।
उनले लुम्बिनीमा आएर बच्चा जन्माउँदा जन्मिने बालबालिकामा बुद्धको जस्तै केही भाव, प्रकृति देखिने विश्वासको साथ प्रचार प्रसार गरेमा विश्वभरीका आमाहरु आफ्ना सन्तान जन्माउन लुम्बिनी आउने बताए।
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा बातवरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले सरकारले सँधै लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले लुम्बिनीमा पर्यटकको बसाई लम्बाउन विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।