काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारी-व्यवसायीले नेपालमा आवश्यक नभएका वस्तु आयात गरी ग्राहकलाई नराम्रो बानी लगाइदिएको आरोप लगाएका छन्।
नेपाल उद्योग परिसंघले सोमबारदेखि सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ कार्यक्रमको उद्घाटन गर्दै उनले चुइगम, इनर्जी ड्रिंक्स र मदिराजन्य वस्तुको आयात नगर पनि हुने भन्दै यस्ता वस्तु आयात गरी नेपालीलाई नराम्रो बानी बसालेको बताएका हुन्।
‘आकर्षक विज्ञापनको माध्यमबाट त्यस्ता वस्तुको प्रयोग नेपालीहरुलाई गराइरहेका छौँ। अझ भनौँ प्रयोग गर्न नै नमिल्ने चिजहरुप्रति हामीले किन आदत बसाल्ने?’ प्रधानमन्त्री ओलीले भने।
उनले अगाडि भने, ‘बाहिरबाट किन इनर्जी ड्रिंक्स ल्याउनु हुन्छ ? धमिलो पानी यहाँ ल्याएर किन बिक्रि गर्नुहुन्छ ? बरु नेपालकै पानीबाट इनर्जी ड्रिंक्स बनाउनुहोस्। बाहिरबाट ल्याउने भनेको त कच्चा पदार्थ वा अत्यावश्यक कुराहरु मात्र हो। तयारी वस्तु नेपालमा बनाएर बाहिर बेच्ने हो। त्यसैका लागि ‘मेड इन नेपाल’ अभियान हुनुपर्छ।’
प्रधानमन्त्री ओलीका अनुसार ‘मेक इन नेपाल’ अभियानले नेपाललाई आत्मनिर्भरतातर्फ लैजान मद्दत पुग्नेछ।
प्रधानमन्त्री ओलीले ‘मेक इन नेपाल’ अभियान उद्योग परिसंघले सुरु गरेको भए पनि यो अभियान सरकारकै भएको र यसले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दाबी गरे।
नेपालीहरुको ‘आम्दानी रेमिट्यान्सबाट तर, खर्च भने सुपरमार्केटमा’ भनेर व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले आवश्यक वस्तु खरिद लागि नभई सपिङको सोख पुरा गर्न सुपरमार्केट जाने प्रचलन बढेको बताए।
उनले भने, ‘धागो सियो, टाँक जस्ता स साना कुराहरु पनि नेपालीहरुले आयात गर्नुपरेको छ। अव देशभक्ति उत्पादनतिर लैजानु आवश्यक छ। नेपालीहरुले दुखले कमाएको पैसा सही ठाउँमा सदुपयोग गर्न सक्नुपर्छ।’