मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाइन्छ। नेपालमा पनि नारी दिवसका अवसरमा विभन्न कार्यक्रम आयोजना गरिँदै छन्।
यस वर्षको दिवसको नारा ‘चुज टु च्यालेन्ज’ अर्थात् चुनौतीको छनोट गर भन्ने छ।
नेपालमा विगतको तुलनामा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो छ। यद्यपि वन्यजन्तु अनुसन्धान तथा संरक्षणमा भने महिला उपस्थिति सीमित छ।
गैरसरकारी क्षेत्रमार्फत संरक्षणमा संलग्न महिलाको यकिन तथ्यांक छैन।
निजामती क्षेत्रमा महिलाको उपस्थिति १५ प्रतिशत मात्र छ। त्यसमाथि संरक्षण क्षेत्र वन सेवामा महिला सहभागिता तीन प्रतिशत छ।
‘पहिला त महिलाले घरबाट बाहिर निस्कने वातावरण पाउनुपर्यो। यसमा घरका सदस्यको पनि ठूलो भूमिका हुन्छ।
फिल्डमा त महिला र पुरुषको के फरक?’ सालकमा पीएचडी अनुसन्धानरत तुलसीलक्ष्मी सुवाल भन्छिन्, ‘फिल्डमा वन्यजन्तुको डर दुवैलाई उस्तै हो।’
विशेष परिस्थितिबाहेक महिलाले संरक्षण क्षेत्रमा काम गर्न सक्दैनन् भन्ने गलत धारणा छ।
‘हामीले चुनौती स्वीकार गरेर अघि बढ्ने हो भने सबैको सहयोग पाइन्छ,’ सुवाल भन्छिन्, ‘तर हाम्रो सोचाइ सही हुनुपर्यो।’
युवा संरक्षणकर्मी आरती बस्नेत विभेदका नयाँनयाँ आयाम चिर्न सधैं चनाखो हुनुपर्ने बताउँछिन्।
उनी भन्छिन्, ‘फिल्डमा जाँदा गाइड, सहकर्मी, होटल व्यवसायी, कार्यालय प्रमुख र धेरैजसो पुरुष नै हुने भएकाले कामको सुरुदेखि अन्त्यसम्म अन्तरक्रिया र सहयोग चाहिन्छ।’ कतिपय व्यक्तिले विभेद गर्ने गरेको उनको बुझाइ छ।
बस्नेत भन्छिन्, ‘यस्तो बेला म गलत ठाउँमा पो छु कि जस्तो लाग्छ। पुरुष साथीले अनुसन्धानमा सहभागी भइरहँदा महिला भएकै कारणले मौका गुमाउनु पीडादयी हुन्छ।’
कतिपय अवस्थामा महिला भएका कारण सामना गर्नुपर्ने असहज शब्द तथा वरिष्ठ भनाउँदाको हेपाइ सहनुपर्ने अवस्था रहेको बस्नेत बताउँछिन्।
‘सबै पुरुषलाई एकै हेराइले हेर्न त मिल्दैन, कतिपय पुरुष सहकर्मी तथा अग्रजले गर्ने सम्मान, साथ तथा हौसलाले प्ररित पनि भइन्छ,’ बस्नेत भन्छिन्।
बस्नेतको बुझाइमा महिलाको शारीरिक विशेषताले गर्दा कहिलेकाहीं असजिलो हुन्छ।
‘महिनावारी भएका बेला जंगलमा दिनभरि हिँड्नुपर्दा शारीरिक पीडा त छँदै छ त्यसमाथि राम्रो शौचालय नहुँदाका दुःख पनि हुन्छन्,’ बस्नेत भन्छिन्, ‘यस्तो बेला महिला सहकर्मीको अभाव खट्किन्छ।’
युवा संरक्षणकर्मी सविता गुरुङ संरक्षण तथा अनुसन्धानमा लाग्दा पुरुष तथा महिलालाई उस्तै अप्ठ्यारो हुने बताउँछिन्।
‘संरक्षण क्षेत्रमा महिलाको उपस्थिति विगतभन्दा बढे पनि समस्या अझै छन्,’ गुरुङ भन्छिन्, ‘अबका दिनमा शारीरिकभन्दा पनि मानसिक विभेदले असर गर्न सक्ने अवस्थाप्रति सचेत हुनुपर्ने देखिन्छ।’
संरक्षणकर्मी सुवालका अनुसार सामुदायिक वनमा ५० प्रतिशत महिला हुनुपर्ने मार्गदशन भए तापनि सोअनुसारको कानुनी प्रावधान नहुँदा महिला सहभागिता खुम्चिएको छ।
उनी भन्छिन्, ‘महिलालाई सुरुमा त घरपरिवारले नै सहयोग गर्नुपर्छ किनभने घरायसी कार्यबोझले थलिएपछि सामुदायिक कामका लागि समय व्यवस्थापन गाह्रो पर्छ।’
विगतमा संरक्षण क्षेत्रमा महिला सहभागितालाई असामान्य रुपमा लिइन्थ्यो भने अहिले त्यो सामान्य बन्दै गएको गुरुङ बताउँछिन्।
‘धेरैभन्दा धेरै महिलाले चुनौतीपूर्ण क्षेत्रलाई कार्यक्षेत्र बनाइरहेको अवस्थाले लैंगिक समावेशी तथा सहभागितामा राम्रो सन्देश दिइरहेको छ,’ गुरुङ भन्छिन्, ‘अब समाजले विद्यमान चुनौतीलाई चिर्ने आधार बनाउने काममा समान सहभागी गराउँदै जानुपर्छ तब मात्र नारी दिवस मनाउनुको सार्थकता झल्किन्छ।’