जनकपुरधाम- प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेको छ।
दिवसको अवसरमा मधेश भवनमा आयोजित कार्यक्रममा प्रदेश सरकारले १ हजार ५२० जना छात्रालाई साइकल वितरण गरेको हो। महिला सशक्तिकरणको उद्देश्यले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरण गरे। मुख्यमन्त्री राउत र उपसभामुख देवले छात्राहरु आँचल कुमारी ठाकुर र प्रियंका कुमारी मण्डललाई संयुक्त रुपमा साइकल हस्तान्तरण गरेर साइकल वितरणको शुभारम्भ गरेका थिए।
यस वर्ष कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य रहेकोे बेटी पढाउ बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन्। प्रदेश २ मा कक्षा ८ मा कुल २७ हजार छात्रा अध्ययनरत छन्। प्रदेश सरकारका अनुसार १७ हजार छात्रालाई चालू आर्थिक वर्षमा वितरण गरिने छ।
नेताहरु भाषणमा मस्त, छात्राहरु भोकभोकै
साइकल वितरण कार्यक्रममा सहभागी हुन धनुषा जिल्लाका विभिन्न विद्यालयका १ हजारभन्दा बढी छात्राहरु आएका थिए। लामोलामो भाषण गर्दै नेताहरुले धेरै समय खाएपछि टाढाटाढाबाट आएका छात्राहरु भने भोकभोकै बस्नु परेको थियो।
११ बजे हुने भनिएको कार्यक्रम नै १२ बजे मात्रै सुरु भएको थियो। कार्यक्रममा सहभागी हुन आएका छात्राहरु मधेश भवनमा बिहान १० बजे नै उपस्थित भइसकेका थिए।
बिहानैदेखि खाना नखाई घरबाट आएका उनीहरुका लागि खाना वा खाजाको कुनै वास्ता गरिएन। कार्यक्रममा सहभागी भएका अधिकांश छात्राहरु चाउचाउ खाँदै थिए। कार्यक्रममा सहभागी भएका नेता तथा मन्त्रीहरु नारी दिवसमा मात्रै केन्द्रित नभएर थुप्रै प्रसंगमा लामो लामो बोलेका थिए।
एसिडपीडित आरतीलाई सम्मान
दिवसको अवसरमा जनकपुरधामकी एसिडपीडित आरती साहलाई प्रदेश सरकारले सम्मान गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर आरतीलाई सम्मान गरेका हुन्।
आरतीमाथि उनका श्रीमान सञ्जीव साहले कातिक २९ गते लक्ष्मीपूजाका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित ससुरालीमा गएर एसिड प्रहार गरेका थिए।
प्रहरीले आरतीका श्रीमान र एसिड व्यापारीलाई पक्राउ गरिसकेको छ। हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ। एसिड प्रहार गर्ने सञ्जीव साहलाई १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको छ।
एसिड प्रहार गर्नेलाई सार्वजनिक स्थलमा झुन्ड्याउनु पर्छ : मुख्यमन्त्री
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहार गर्ने व्यक्तिलाई सार्वजनिक स्थलमा झुन्ड्याउनु पर्ने बताएका छन्। आरती साहलाई सम्मान गर्दै मुख्यमन्त्री राउतले भने ‘यस्तो निर्ममता देखाउने अपराधी प्रवृतिका व्यक्तिलाई सार्वजनिक स्थलमै झुन्ड्याउनु पर्छ।’ कानूनले एसीड फाल्ने व्यक्तिलाई कडा सजाय दिने व्यवस्था गरेको छ, मुख्यमन्त्री राउतले अगाडि भने ‘संविधानमै संशोधन गरेर भए पनि यस्ता अपराधीहरुलाई त सार्वजनिक स्थलमै झुन्ड्याउने व्यवस्था गर्नुपर्छ।’
संघीय सरकारको नीतिका कारण प्रदेश सरकारसँग आफ्नो प्रशासन नभएकाले पनि आशा गरेअनुरुप अपराध न्यूनिकरण गर्न नसकेको उनले बताए। उनले भने ‘आशा गरौँ संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारले चाँडै त्यो अधिकार पाउने छ र प्रदेश सरकारले आँफै प्रदेशमा अपराध निर्मूल पार्नेछ।’