काठमाडौं- ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज सोमबार अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै छ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाइँदै आएको छ।
क्लारा जेट्किनले नै सन् १९१० मा डेनमार्कको कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन प्रस्ताव गरेकी थिइन्। त्यसपछि सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसको अवसरमा शुभकामना दिँदै लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन्।
संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उनले उल्लेख गरेकी छन्।
संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गरेकी छन्।
लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको राष्ट्रपतिको भनाइ छ।
भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन्।