काठमाडौं - स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न मड्रिड डर्बीको खेल बराबरीमा रोकिएको छ।
एथ्लेटिको मड्रिडको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा पाहुना टिम रियल मड्रिड घरेलु टिमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको १५ औं मिनेटमै घरेलु टिमका लुइस सुआरेजले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि निकै दबाबमा आएको रियलले अधिक समय बल आफ्नो साथमा राखे पनि गोल गर्न सकेन।
तर, धेरै प्रहारहरू रोकिएपछि खेलको ८८ औं मिनेटमा बेञ्जेमाले गोल गर्दै रियललाई हारबाट जोगाएका थिए। तर, रियलका अन्य प्रहारहरू भने सफल बन्न सकेनन्।
खेलको पहिलो हाफमा रेफ्री अलेजेन्ड्रो हर्नान्डेजले केही समय भीएआरमा रिप्ले हेरे पनि उनले एथ्लेटिकोको फिलिपको ह्यान्बलमा पेनाल्टी दिन अस्वीकार गरे। यसकारण रियलले पहिलो हाफमै बराबरी गर्ने अवसर गुमाएको थियो।
यो बराबरीपछि पनि रियल उपाधि दौडमा कायम छ। गएरातिको खेलमा बराबरी गरेपछि तेस्रो स्थानको रियल ५४ अंक बनाउँदै शीर्षस्थानको एथ्लेटिकोभन्दा ५ अंक पछि छ।
दोस्रो स्थानको बार्सिलोनाको ५६ अंक छ।
बराबरीपछि रियलका प्रशिक्षक जिनेदिन जिदानले यो एक अंक आफ्नो उपाधि यात्रा बचाउने अंक भएको बताएका छन्।
‘लामो यात्रा अझै बाँकी छ। धेरै अंकहरू स्टकमै छन्। त्यसैले हामी अन्तिमसम्म फाइट गर्छाैं,’ जिदानेले भने।