चितवनका पोस्तक श्रेष्ठ अमेरिकामा बस्छन्। उतै व्यवसाय गर्छन्। कविता लेखनमा रुचि राख्ने श्रेष्ठको ‘मुन्नी’ पहिलो कथासंग्रह हो। नेपालदेखि अमेरिकासम्मका नेपालीको जीवन भोगाइका विविध विषयमा आधारित प्रस्तुत कथासंग्रह हालै लिपि बुक्समार्फत बजारमा आएको छ। सोही कृतिमा आधारित रहेर लेखकसँग नेपाल समयले गरेको कुराकानी :
‘मुन्नी’ मा पाठकले कस्ता कथाको स्वाद पाउन सक्छन्?
विषयवस्तुमा विविधता छ। कथा र पात्रमा विविधता छन्। धेरैजसो कथामा प्रेम मूल विषयवस्तु भए पनि समाजका विभिन्न पक्ष समेटिएका छन्— द्वन्द्व, छुवाछुत, महिला विभेद, मनोविज्ञान आदि। म यति भन्न सक्छु, मेरा कथामा पर्याप्त सामग्री छन्। ती सामग्री नेपालदेखि अमेरिकासम्म छरिएका परिवेशमा आधारित छन्। स्वदेश र विदेशमा बस्ने नेपालीका विभिन्न जीवन भोगाइसँग सम्बन्धित छन्।
कथासंग्रहमा विदेशमा बसेका नेपालीको जनजीवन पढ्न पाइन्छ वा नेपाली भूमिमै बसोबास गर्ने नेपालीको?
केही कथा विशुद्ध नेपाली भूमिकै छन्। केही कथाका पात्र नेपाल–अमेरिका ओहोरदोहोर गरिरहन्छन् र कथा पनि यी दुई देशबीच उडिरहन्छन्। एकाध कथा पूर्ण अमेरिकी पृष्ठभूमिका छन्। तर पात्र सबै नेपाली मूलकै छन्। विदेशी भूमिमा बसोबास गर्ने नेपालीलाई नेपालमा भएका घटनाको प्रत्यक्ष–परोक्ष प्रभाव परिरहेकै हुन्छ। नेपाली समाज, कलासंस्कृति, संस्कार आदि आएकै हुन्छ। हामी कुनै न कुनै तरिकाले जोडिएकै हुन्छौं। कथामा यिनै विषय समेटिएको छ।
साहित्यमा विदेशमा बसेका नेपालीको जीवन भोगाइ प्रस्तुत गर्नुपर्ने विषयमा तपाईंको धारणा के छ?
स्वदेश र विदेशको समाज फरक हुन्छ, परिवेश फरक हुन्छ। जीवनका भोगाइको अवस्था उस्तै हुन्छ— नेपालमा होस् वा विदेशमा। भावनाको स्वरूप जहाँ पनि उस्तै हुन्छ। साहित्य यिनै भावनाको अभिव्यक्तिको माध्यम बन्नुपर्छ। मेरो विचारमा आख्यानमा भूगोल विशेषको अनुभव सहायक विषयवस्तु मात्र हुन सक्छन्।
विदेशमा बस्ने नेपालीले कस्तो साहित्य लेखून् जस्तो लाग्छ?
म आख्यान र गैरआख्यान दुवै पढ्छु। विदेशमा बस्ने लेखक भनेर म छुट्याउन चाहन्नँ। लेखकले कस्तो लेखून् भनेर भन्नु भन्दा पनि एउटा पाठकको हैसियले म कस्तो रुचाउँछु भनेर भन्न चाँहि सक्छु। कथामा दोस्रो अनुच्छेद पढिसक्दा पनि कथा उठान भएको छैन भने मेरो रुचि घट्छ।
कतिपय ‘बेस्ट सेलर’ भनेर छानेका उपन्यास सिंगै पढिसक्दा पनि कथाको गुदी भेट्दिनँ र रनभूल्ल पर्छु। यद्यपि साहित्यिक कलेवर, शिल्प र कलाको प्रचुर प्रयोग छ, तर कथा छैन— भोगटे जस्ता— बोक्रा धेरै गुदी कम। निजात्मक दर्शन, उपदेश, विरोध, रोदन र समाजका नकारात्मक पक्ष मात्र साहित्यमा लेखिनु हुँदैन।
कविता र कथामध्ये तपाईंलाई आफ्ना अभिव्यक्ति कुन विधामार्फत प्रकट गर्न सजिलो लाग्छ?
कविता पढ्छु। कहिलेकाहीं लेख्छु पनि। तर म कविता लेख्न त्यति जान्दिनँ। यो गहन विषय हो। कवितामा छन्द, व्याकरण र शब्द चयन त मिल्नुपर्छ नै, भाव पनि गहन हुनुपर्छ। यस्तो भावको सरोवर जसमा पाठक डुब्न सकून्। कथा भन्ने र सुन्ने सरल प्रक्रिया हो। यसलाई गद्य भाषामा उतार्दा आनन्दा आउँछ। त्यसैले आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न कथा नै सजिलो माध्यम हो जस्तो लाग्छ।
व्यवसाय र लेखनलाई कसरी सँगसँगै अगाडि बढाइरहनुभएको छ?
म समर्पित लेखक होइन। साहित्य मेरो रहर मात्र हो। कहिलेकाहीं मनभित्र चिसो सिरेटो चल्छ— कहिले तूफान, तिनै कुरालाई लिपिबद्ध गरिदिन्छु। फेरि आफ्नै कर्ममा फर्किन्छु। जीवन रोजीरोटीको चक्रमा फेरि फनफनी घुम्न थाल्छ। मन शान्त तलाउ बन्न पुग्छ – न कुनै छाल वा तरंग उठ्छ। बिचार शून्य अवस्थामा पुग्छु। त्यति बेला केही लेख्दिनँ र सक्दिनँ पनि। मेरो रोजीरोटीको कर्म र साहित्य लेखनको कुनै निश्चित कार्यतालिका छैन। एकले अर्कालाई असर नगरून् भनेर प्रयासचाँहि गर्छु।
‘मुन्नी’ नपढेमा नेपाली साहित्यका पाठकले के गुमाउँछन् जस्तो लाग्छ?
मुन्नी नपढेमा पाठकले धेरै नै गुमाउँछन् भन्नु अतिशयोक्ति नै होला। कुनै उपभोग्य वस्तुको प्रवर्धन गर्दा मात्र यस्तो दाबी गरिन्छ। साहित्य, कला, गीत–संगीत जस्ता सिर्जना फरक हुन् र आमपाठकसम्म पुग्न समय लाग्छ। पुगे पनि ग्रहण एउटै तरिकाले हुँदैन। लेखक, पाठक, समीक्षकका स्वाद फरक हुन्छन्। तर यति भन्न सक्छु— सरल आख्यान र पर्याप्त विषयवस्तु खोज्ने पाठकलाई ‘मुन्नी’ अवश्य मन पर्छ। क्लिष्ट भाषा, दर्शन, उपदेश, समाज परिवर्तनका चर्का नारा खोज्नेचाँहि निराश हुनुहोला।
पुस्तकका रूपमा यो मेरो पहिलो कृति हो। त्यसैले बढीभन्दा बढी पाठकको प्रतिक्रिया जान्न अति उत्सुक छु। राम्रो छ, गज्जब छ भनेर त मेरा नजिकका मित्र, नातागोता सबैले भन्नुभएकै छ। कहाँनिर के गलत भयो? के हुनु पर्थ्याे? कि बिल्कुलै रद्दी लेखें? ‘मुन्नी’ का बारेमा कडाभन्दा कडा र निर्मम टिप्पणी सुन्न चाहन्छु।